• ३० फागुन २०८१, शुक्रबार

युवालाई स्वदेशमै अवसर

blog

करिब एकसाताअघि विभिन्न देशमा जानका लागि तयारी गरिरहेका विद्यार्थीसँग मैले अन्तर्क्रिया गर्ने अवसर प्राप्त गरेको थिए । कलेज रित्तो पारेर कन्सल्टेन्सी धाइरहेका युवाको मनोविज्ञान के छ भन्ने ममा निकै जिज्ञासा दौडिरहेको थियो । युवाको विदेश पलायनका बारेमा गहिरा गहिरा अध्ययन र अनुसन्धान नभएका भने होइनन् तर पनि मलाई आफैँले महसुस गर्न मन थियो । खास गरेर नेपालमा केही पनि गर्न सकिन्न भन्ने अन्तिम निष्कर्षमा आजको युवा पुस्ता किन पुगिरहेको होला भन्ने प्रश्नले मलाई त्यहाँसम्म डोर्‍याएको थियो । आजको युवाले सोच जस्तो के नेपालमा केही पनि छैन त ? कहीँ कतै केही बिग्रेको छ भने आजको युवा पुस्ताले त्यसलाई मर्मत गरेर सही ढङ्गले अगाडि बढाउन सकिँदैन त ? किन आजको युवा पुस्ताले देख्ने बिग्रेको देशलाई सपार्नका लागि प्रयास गर्दैनन् त ? देश सपारेर सुन्दर बनाउनुभन्दा नागरिकतासमेत त्यागेर विदेशै जाने सोच राख्नु राम्रो हो त ? आममानिसका जस्तै साझा प्रश्न नै थिए मसँग ।

 नेपालबाट अध्ययनका लागि विदेश जाने युवाको तथ्याङ्क उल्लेख गर्न नै डरलाग्दो खालको छ । कलेजका कक्षाकोठामा विद्यार्थी होइन बेन्च मात्रै छन् । कतिपय कलेज बन्दको अवस्थामा समेत पुगिसकेका छन् । कक्षा ११ र १२ अध्ययन गर्दै गरेको विद्यार्थीसँग विदेश जाने मात्रै सपना छ । विदेश जानु नै रहरलाग्दो जिन्दगी बाँच्नु हो । विदेश जानु नै आवश्यकता पूरा गर्नु हो । विदेश जानु नै खुसी रहनु हो । विदेश जानु नै समाजमा प्रतिष्ठित हुनु हो । यस्तो खालको भाष्य अहिले निर्माण भइरहेको छ । यो भाष्यले विदेश जानेको लर्को झनै बढाइरहेको छ । ‘जेन जी’ भनिने क्षमतावान् नयाँ पुस्तालाई देशमै सोचे जस्तो जिन्दगी बाँच्ने बनाउन सकिँदैन होला र ? 

कन्सल्टेन्सीको फराकिलो कोठामा अटेसमटेस गरेर बसिरहेका छलफलमा सहभागी अधिकांश युवा बिनायोजना लहडमा विदेश जाने लाइनमा लामबद्ध भएका रहेछन् । उनीहरूसँग कुन देश जाने भन्ने पनि योजना रहेछन् । प्रयास गर्दै जाने र सजिलै जुन देशबाट भिसा प्राप्त हुन्छ, त्यही देशमा जाने योजनामा युवाहरू रहेका छन् । छिमेकी, साथी या आफन्तीलाई देखेर नै विदेशलाई गन्तव्य बनाउने धेरैको सोच रहेछ । नेपालमा मेहनत ग¥यो भने केही न केही अवश्य पनि प्राप्त गर्न सकिन्छ भन्ने लाग्दालाग्दै पनि विदेश जानुलाई जीवन सुन्दर र खुसी बनाउने गतिलो माध्यम सोच्दो रहेछ आजको पुस्ता ।

 प्रविधिमा पोख्त जेन जी भनिने पुस्तालाई यही देशको माटो मलिलो बनाउने र यही देशमा सपनाका सुन्दर फूल फुलाउने खासै रहर रहेनछन् । अध्ययन गर्ने बहना पारेर उनीहरू काम गर्नकै लागि विदेशमा जाने कुरालाई स्वीकार्न पनि तयार छन् । उनीहरूले अध्ययन गर्ने विश्वविद्यालय कस्तो हो ? त्यहाँ कस्तो पढाइ हुन्छ ? उनीहरूलाई केही पनि अत्तोपत्तो र चासो छैन । विदेशी भूमि कानुनी रूपमा टेक्ने सपनाबाहेक केही पनि उनीहरूले बोकेका छैनन् । पढ्ने बहाना बनाएर विदेश जाने अनि सकुन्जेल काम गरेर पैसा कमाउने यही सपनाले उनीहरूलाई झस्काइरहेको देखिन्छ । विदेश गएर विज्ञता हासिल गर्ने, विशेषज्ञ बन्ने, प्राज्ञिक कार्यमा लाग्ने, अध्ययन अनुसन्धान गर्नेलगायतका गहु्रँगा सपना निकै कम छन् उनीहरूसँग । 

 विद्यार्थीसँग अन्तर्क्रिया गरिसकेपछि मलाई लाग्यो उनीहरूलाई विदेश जानका लागि प्रेरित गर्ने कैयौँ कन्सल्टेन्सी भए जस्तै नेपालमै केही गर्न सकिन्छ भन्ने सिकाउनका लागि हामीले किन प्रयत्न नगरेको ? हामी अनेकानेक बौद्धिक विलाशिताका कुरा गरेर त थाक्दैनौँ तर देशलाई आवश्यक बौद्धिक कसरत गर्न किन चुकिरहेका छौ त ? नेपालले अहिले भोगे जस्तो युवा पलायनको डरलाग्दो अवस्थाको सामना विश्वका विभिन्न देशले गरिसकेका छन् । उनीहरूले त्यसलाई उचित समाधान गरे, फलस्वरूप युवाले देशलाई नै प्यारो ठानेर बसिदिए । देश छाडेर गएका पनि आइदिए । विश्वव्यापीकरणले आजको युवालाई एकै ठाउँमा रोक्नका लागि निकै जटिल बनाएको छ तर असम्भव भने छैन । 

सन् १९८० देखि ९० को दशकमा इजरायलले युवा पलायन समस्या सामना गरिरहेको थियो । सानो जनसङ्ख्या भए पनि सीमित प्राकृतिक स्रोत र उद्योग धन्दाको राम्रोसँग विकास नभएका कारणले गर्दा रोजगारीको अवसर निकै न्यून थियो । योग्य वैज्ञानिक र प्राविधिक ज्ञान भएका युवाले देश छाडिरहेका थिए । यसरी एकाएक युवा पलायन बढ्दै जान थालेपछि इजरायलले विदेशी उद्योग सञ्चालनका लागि कर छुट दियो, नयाँ व्यवसाय गर्नेहरूका लागि स्टार्टअप विजनेसका लागि आर्थिक लगानी पनि ग¥यो । प्रविधि र आविष्कारलाई नियमित अनुदान दिन थाल्यो । जसले इजरायलमा हजारौँ स्टार्टअप जन्मायो । स्टार्टअपलाई विश्व बजारसँग जोड्नका लागि ग्लोबल इन्नोभेसन हब बनाएर अमेरिका, युरोप र एसियाली देशहरूसँग सहकार्य बढायो । गुगल, माइक्रोसफ्ट र एप्पल जस्ता कम्पनीहरूले इजरायलमा कार्यालय खोल्न थाले । यसले त्यहाँका युवालाई आफ्नै देशमा अवसर मिल्यो र युवा पलायन दर घटेर गयो । 

 हाम्रै छिमेकी देश चीनबाट पनि युवा उच्च अवसरको खोजीमा अमेरिका, युरोपका विभिन्न देश पुगिरहेका थिए । सन् २००० बाट चीनले विभिन्न देशका योग्य युवालाई देशमै फर्काउने योजना बनायो । उसले विदेशमा रहेका चिनियाँलाई कर छुट, आकर्षक तलब र अनुसन्धानका लागि अनुदान दिने योजना बनायो । विश्वका विभिन्न देशमा रहेका आफ्ना क्षमतावान् युवालाई विभिन्न सरकारी प्रमुख पदमा अवसर दियो । प्रविधि नवप्रवर्तनलाई प्राथमिकतामा राख्यो । यसले चीनका विदेश गएका करिब १० लाख युवा वैज्ञानिक देशमै फर्किए । चीन विश्वकै ठुलो प्रविधि अर्थतन्त्र भएको देश बन्यो । अलिबाबा, हुवावे जस्ता कम्पनी विश्वव्यापी बने । 

 माथिका उदाहरणले के प्रस्ट हुन्छ भने राज्यले योजनाबद्ध ढङ्गले काम गरेपछि अवश्य पनि देशलाई छोटो समयमै परिवर्तन गर्न सकिन्छ । नेपालमा पनि पलायन हुन लागेका युवालाई स्टार्टअप विजनेससँग जोड्दै अगाडि बढ्नु पर्छ । विश्वका विभिन्न देशमा उच्च पदस्थ स्थानमा काम गरिरहेका नेपालीलाई पहिलो प्राथमिकतामा राखेर देशमा फर्काउनु पर्छ । उनीहरूले जानेको ज्ञान र सिपलाई देशका लागि उपयोग गर्नु पर्छ । यसका लागि योजना बनाएर मात्रै हुँदैन । राज्यले सोही अनुसार लगानी पनि गरिदिनु पर्छ । आजको युवाले देशमै केही लगानी गर्नका लागि किन सहजता महसुस गरिरहेको छैन भन्ने बारेमा पनि सोच्नु पर्छ । युवालाई देशमै आफ्नो श्रम र सिप उपयोग गराउनका लागि विभिन्न अनुदानदेखि लिएर राज्यले अभिभावकीय भूमिका बहन गर्नु पर्छ । 

 युवा पलायन रोक्नका लागि मुख्य कुरा भनेको युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउने नै हो । देशमै गतिलो अवसर प्राप्त गरेको युवाले विदेश जाने कल्पनासम्म पनि गर्न सक्दैन । देशमै केही राम्रो काम गरेका युवाको सङ्ख्या बढ्दै जाँदा विदेश जाने युवाको सङ्ख्यामा पनि कमी आउने देखिन्छ । स्टार्टअपलाई आर्थिक सहयोग तथा अनुदान दिएर आफ्नो सिप अनुसारको काम गर्नका लागि उत्प्रेरित गर्नु पर्छ । 

नेपाली युवाको विदेश पलायन रोक्नु हाम्रा लागि निकै चुनौतीपूर्ण कार्य हो तर असम्भव भने अवश्य पनि होइन । राज्यले युवामैत्री नीति अख्तियार गरेर युवालाई स्वदेशमै केही गर्ने अवसर सिर्जना गरेमा अवश्य पनि हाम्रा युवा विदेश जाने मोहबाट मुक्त हुने छन् । यसमा राज्यको नीति र त्यसको कार्यान्वयन मूल विषय हो ।