काठमाडौँ, फागुन २८ गते । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पुलिसले कोशी प्रदेशलाई एक सय ५४ रनले हरायो । यस्तै सिद्धर्थनगर क्रिकेट मैदानमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्यो । जितसँगै पुलिस र आर्मीले चार चार अङ्क बनाएको छ ।
जितका लागि पुलिसले दिएको दुई सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३४ रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८८ रन बनाएको थियो ।
यस्तै अर्को खेलमा जितका लागि सुदूरपश्चिमले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको आर्मीले २३.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो ।