सचिन पोख्रेल
इटहरी, फागुन २८ गते। कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले मङ्गलबार प्रतिबन्धित लागुऔषध सहित १५ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध सहित १५ जनालाई पक्राउ गरिएको हो।
वडा प्रहरी कार्यालय भद्रपुर र लागुऔषध नियन्त्रण ब्युरो काँकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका–१ का ३० का तोयनाथ बास्कोटा, २२ वर्षीय निश्चल खत्रीलाई एक ग्राम २४० मिलिग्राम ब्राउन सुगर र पाँचथर फिदिम नगरपालिका–४ का २० वर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी, मोरङको बेलबारी नगरपालिका–११ स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको सुन्दरहरैँचा–११ का ३५ वर्षीय फिरोज राईलाई ६९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानीले चेकजाँचको क्रममा उर्लाबारी–७ का २३ वर्षीय अशोक भुजेललाई–६० एम्पुल प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ। कोशी गाउँपालिका–८ बाट इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी कञ्चनरूप नगरपालिका–७ का २६ वर्षीय राजन ठाकुरलाई विभिन्न लागुऔषध र गाँजासहित पक्राउ गरेको जनाएको छ।
मङ्गलबार राति वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ का ५३ वर्षीय प्रेमबहादुर लिम्बू, १९ वर्षीय निकेश लिम्बू, १९ वर्षीया रेजिना खत्री, १९ वर्षीय सूर्य लिम्बूलाई ट्रामाडोल–३ हजार २ सय ९० नब्बे ट्याब्लेट, स्पासपेन–६ सय २ चक्की प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिएको हो। यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका–१२ का २६ वर्षीय ललित चौधरी र २५ वर्षीय बिदायक राईलाई लागु औषध ३०एम्पुल सहित पक्राउ गरेको छ।
यसैगरी इलाका प्रहरी कार्यालय कटारीले धनुषाको धनुषाधाम–५ का ३५ वर्षीय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा–१ का ४० वर्षीय दिलिप भुजेललाई टापेन्डाडोल २५१०, स्पास्पेन २४६० र क्याफ डि ३२० ट्रयाव्लेट सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय अर्जुन रोक्कालाई ६९ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको छ।