सचिन पोख्रेल
इटहरी, फागुन २८ गते । दिन प्रतिदिन बढ्दै गएको लागु औषध दुर्व्यसनको समस्यालाई नियन्त्रण गर्न अबको युद्ध, दुर्व्यसनविरुद्ध भन्ने नारासहित कोशी प्रदेशमा बुधबारदेखि औपचारिक रूपमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान प्रारम्भ भएको छ ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालय तथा कोशी प्रदेश प्रहरी कार्यलयले संयुक्त रूपमा इटहरी बृहत् प्रभात फेरीसहितको एक औपचारिक कार्यक्रमको आयोजना गरी लागु औषध दुर्व्यसनविरुद्धको अभियान प्रारम्भ गरेको हो ।
कोश प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार इटहरीमा अभियानको उद्धघाटन गर्नुभयो । विद्यालयस्तरमै फ्यान क्लब स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यले प्रदेशका १४ वटै जिल्लामा यो अभियान अगाडि बढाइएको बताइएको छ ।
कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री कार्कीले पछिल्लो समय समाज लागु औषध दुर्व्यसनको चपेटामा फसिरहेकोमा चिन्ता व्यक्त गर्दै दुर्व्यसनविरुद्धको महाअभियानमा तिनै हतको सरकार, सबै सुरक्षा निकाय, सबै क्षेत्रका सामाजिक संस्था र सरोकारवाला सबै पक्ष एकै भएर साझा अभियान सञ्चालन गर्नु आवश्यकता औंल्याउनुभयो । उहाँले समाज लागु औषध रोकथाम र नियन्त्रणका क्षेत्रमा महाअभियानको रूपमा सञ्चालन गरिने कार्यक्रमले दुर्व्यसनमुक्त समाज निर्माणमा बृहत् भूमिका खेल्ने विश्वाससमे व्यक्त गर्नुभयो । यसको माध्यमबाट दुर्व्यसनको समस्या समाधानमा ठुलो जागरूकता र परिवर्तन आउने उहाँको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले मानिसहरू पहाडबाट तराई बसाइसराई गरेजस्तै दुर्व्यसन तराईबाट पहाड तथा हिमाली भेगतर्फ सरिरहेकोमा चिन्तासमेत प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘पहिले धरान, पोखरा र काठमाडौँमा धेरै दुर्व्यसन भएको सुन्ने गरिन्थ्यो । अहिले तराईका २२ वटै जिल्लामा भयावह अवस्था छ । विस्तारै यो हाम्रो पहाडी र हिमाली क्षेत्रतर्फ सरिरहेको छ । यो देश र समाजका लागि राम्रो सङ्केत भएन ।’’
मुख्यमन्त्री कार्कीले दुर्व्यसनीलाई रोकथामका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिँदै यसका लागि प्रदेश सरकार सक्दो सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।
यसैगरी, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले लागु औषध दुर्व्यसनको विकराल अवस्थाबाट समाज र राष्ट्रलाइ जोगाउने अभियानअन्तर्गत फ्यान क्लबको माध्यमबाट सबै विद्यालय र समाजमा सुसूचित गराउन कार्यक्रम अगाडि सारिएको बताउनुभयो । उहाँले अभियानलाई साथ दिन सबै सरोकारवाला पक्षसँग आग्रहसमेत गर्नुभयो ।
विगत छ वर्षअघि जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रयास र समन्वयमा सुरु गरिएको दुर्व्यसनविरुद्धको अभियान बुधबारदेखि कोशी प्रदेशमा विस्तार गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख हुँदा अभियानको परिकल्पना गरी सुनसरीमा अभियान सुरु गरेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वर्तमान प्रहरी नायब महानिरीक्षक डिआइजी राजन अधिकारीले कोशी प्रदेश प्रहरी प्रमुख भएपछि अभियानलाई प्रदेशव्यापी बनाएको बताइएको छ । उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समेटेर अघि बढाइएको यो अभियानलाई प्रदेश सरकार र स्थानीय तहहरुले वार्षिक कार्ययोजनामै समेटर साथ दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रीहरू, स्थानीय तहका प्रमुख तथा विभिन्न सुरक्षा निकायका प्रदेश र जिल्लास्तरीय प्रमुखहरू, लागु औषध दुर्व्यसनविरुद्धको अभियानमा आबद्ध अभियानकर्मी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी लगायत सरोकारवाला पक्षको सहभागीता रहेको थियो ।