आफूले कोभिड सङ्कटको व्यवस्थापन कुशलताका साथ गरेको विश्वास ट्रुडोलाई थियो । यही विश्वासलाई लिएर उनले सन् २०२१ मा मध्यावधि निर्वाचन घोषणा गरे तर उनको अनुमान गलत निस्कियो ।
उत्तर अमेरिकी मुलुक क्यानाडाको राजनीति तरङ्गित छ । नौ वर्ष शासन गरेका प्रधानमन्त्रीले राजीनामा दिएसँगै नयाँ नेतृत्वको खोजी भएको छ ।
क्यानाडा विश्वको दोस्रो ठूलो देश हो । यसको क्षेत्रफल ९९ लाख ८४ हजार ६३६ वर्ग किलोमिटर रहेको छ । देश विशाल भए पनि जनसङ्ख्या मात्र चार करोड १५ लाख मात्र छ । यसले बेलायती शैलीको संसदीय शासन प्रणाली अपनाएको छ । अङ्ग्रेजी र फ्रेन्च मुख्य भाषा बोलिने क्यानाडामा पुरुषको ७९ र महिलाको ८३ वर्ष औसत आयु छ । प्रतिव्यक्ति आय ५३ हजार डलरभन्दा बढी छ ।
५३ वर्षीय ट्रुडो पूर्वप्रधानमन्त्री आफ्ना पिता पिएरे ट्रुडोको कार्यशैली अनुशरण गरेर लोकप्रिय भएका थिए । ट्रुडो तीन पटक निरन्तर चुनाव जितेर चर्चामा आए । उनको कार्यकालमा कोभिड–१९ सर्वमहामारी तथा मेक्सिको र अमेरिकासँग त्रिपक्षीय व्यापार सम्झौताको दबाबका रूपमा क्यानाडाले दुई वटा ठुला सङ्कट झेलेको थियो ।
सन् २०१३ मा उनको लिबरल पार्टी ‘हाउस अफ कमन्स’ मा तेस्रो स्थानमा झरेको तथा अन्य गहिरो सङ्कटमा फसेका बेला उनले पार्टीको जिम्मा लिएका थिए । नेतृत्व लिएसँगै उनले ‘सन्नी वेज’ (घमाइलो बाटो) भनिने प्रभावकारी अभियान चलाएकाले सन् २०१५ मा उनको पार्टी विजयी भयो । पहिलो कार्यकालमा उनले अमेरिका र मेक्सिकोसँग त्रिपक्षीय व्यापार सम्झौता सफलतापूर्वक निष्कर्षमा पुर्याएका थिए । ट्रुडोले यसमा उत्कृष्ट रणनीतिका साथ कुशलतापूर्वक नयाँ सम्झौता गराउन सक्षम भए । त्यसैले इतिहासमा उनको मूल्याङ्कन राम्रो हुने अनुमान गरिएको छ ।
लैङ्गिक समानताप्रति प्रतिबद्ध उनी नारीवादीका रूपमा चिनिन्छन् तर दुर्भाग्यवश आफ्नो राजनीतिक जीवनमा भेटेको शक्तिशाली महिला तथा आफ्नै सरकारका अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डसँगको झगडाका कारण उनको सरकार ढल्ने अवस्था आयो ।
सन् २०१९ को निर्वाचनबाट ट्रुडोको पार्टी ठूलो बने पनि बहुमत ल्याउन सकेन । जसले गर्दा अन्य घटकको सहयोग धेरै महत्त्वपूर्ण हुँदै गयो । निर्वाचनको केही महिनामै कोभिड सर्वमहामारी देखा पर्याे । ट्रुडो आफ्ना नागरिकलाई आड–भरोसा दिलाउन हरेक दिन टेलिभिजनमा देखिन थाले । यसले पनि राम्रो प्रभाव पार्न सकेन र उनको लोकप्रियतामा कमी आयो ।
आफूले कोभिड सङ्कटको व्यवस्थापन कुशलताका साथ गरेको विश्वास ट्रुडोलाई थियो । यही विश्वासलाई लिएर उनले सन् २०२१ मा मध्यावधि निर्वाचन घोषणा गरे तर उनको अनुमान गलत निस्कियो । उनले अर्काे अल्पमतको सरकारको नेतृत्व गर्नुपर्ने बाध्यता आइलाग्यो ।
ट्रुडोका एक सहयोगीका अनुसार उनी असाध्यै लजालु मानिस हुन् । उनी आफ्नै नजिकका मानिससँग समेत आँखा जुधाएर कुरा गर्न सक्दैनन् । आफूले नचिनेका मानिससँग कुरा गर्न असहज मान्ने ट्रुडोको स्वभावले पार्टीमा विभिन्न समस्या उत्पन्न हुन थालेको थियो ।
ट्रुडोमा यस्तो स्वभाव देखिनुमा पिएरे ट्रुडोको छोराका रूपमा हुर्किनु पनि एक प्रमुख कारण हो । पिएरे ट्रुडो आफ्नो जमानामा सोख र विलासिताका लागि माहिर थिए । उनको चर्चा, गाडीको सोख, चमकदार पहिरन र रोमाञ्चक रुचिलाई सन् १९६० को दशकमा ‘ट्रुडोमेनिया’ भनिन्थ्यो । सुरु सुरुमा यस्तो पदावली छोरा ट्रुडोको मिडियामा परेको प्रभावको हकमा पनि प्रयोग गरिन्थ्यो । बाउछोराको समानता भनेको जिद्दीपना पनि हो ।
सन् २०१९ को फेब्रुअरीमा पूर्वकानुनमन्त्री जोडी रेबोल्डले ट्रुडो र अन्य अधिकारीले आफूमाथि दबाब दिएको आरोप लगाएकी थिइन् । एसएनसी–लाभलिन नामक निर्माण कम्पनीलाई भ्रष्टाचारमा अनुसन्धान नगर्न दबाब दिइएको उनको भनाइ थियो ।
गत वर्षको अगस्तमा ट्रुडोको १८ वर्ष लामो वैवाहिक जीवनको पनि अन्त्य भयो । ट्रुडोको पतन गराउने ठुलो मोड त्यसबेला आयो जब गत वर्ष डिसेम्बरमा फ्रिल्यान्डसँगको विवाद झगडामा परिणत भयो । फ्रिल्यान्ड तत्कालीन अर्थमन्त्री मात्रै होइन उनको मन्त्रीपरिषद्को मुख्य सहयोगी पनि थिइन् ।
ट्रुडोले घटुवा गर्ने प्रयास गरेपछि उनी डिसेम्बर १६ मा राजीनामा दिएर सरकारबाट बाहिरिइन् । यस परिघटनालाई नजिकैबाट नियालिरहेको विपक्षी दलले तुरुन्तै सदनमा विश्वासको मत माग गरिहाले । फलतः ट्रुडो सरकारमा टिक्न सक्ने अवस्था रहेन र उनले राजीनामा दिए । हाल हुने कार्यबहाक प्रधानमन्त्री छन्
- युवामञ्च