सर्लाही समाचारदाता
सर्लाही, फागुन २८ गते । सर्लाहीको गोडैता नगरपालिका–२, बेल्वाजब्दीमा सोरमखोला सिँचाइ योजना अलपत्र पर्दा किसान मारमा परेका छन् । आर्थिक वर्ष २०६८/६९ मा तत्कालीन सिँचाइमन्त्री महिन्द्रराय यादवले शिलान्यास गरेर सोरमखोलामा निर्माण गरिएको सिँचाइ ब्यारेज अहिले अलपत्र अवस्थामा छ । ब्यारेज निर्माण भएको केही समयपछि नै बाढी आएर पश्चिमतर्फको भागमा क्षति पुर्याएदेखि अलपत्र अवस्थामा रहेको किसानले बताएका छन् ।
बाह्रैमास बग्ने सोरमखोला (बघी नदी) को पानी त्यसै खेर गइरहेको छ । छेउमै खेत रहेका किसान भने पम्पिङ सेट (दमकल) चलाएर सिँचाइ गर्न बाध्य भएका छन् । गोडैता नगरपालिका–३, सिमरा भगवतीपुरका किसान वीरेन्द्र हजारीले अलपत्र ब्यारेज सञ्चालनमा ल्याउन कुनै निकायले चासो नदिएको गुनासो गर्नुभयो । ब्यारेज अलपत्र रहँदा सिमरा भगवतीपुर, रोहुवा, बेल्वाजब्दी, बहादुरपुर, भटौलिया र पिपरनाथ गाउँका किसानलाई सिँचाइको असाध्यै समस्या रहेको हजारीले बताउनुभयो ।
सिमरा भगवतीपुरकै अर्का किसान रामएकवाल महतोले सिँचाइको अभावमा बर्सेनि उब्जनी घट्दै गएको तर खेत छेउकै सिँचाइ योजना अलपत्र रहँदा असाध्यै दुःख लाग्ने गरेको बताउनुभयो । ब्यारेजमा बाढीले क्षति पुर्याएपछि किसानको खेतसम्म पुर्याइएको नहरसमेत अलपत्र रहेको छ ।
गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले सोरख खोलाको ब्यारेज सञ्चालनका लागि प्रदेश सरकारबाट ५० लाख रुपियाँ बजेट विनियोजन भएर आए पनि निर्माण व्यवसायीले उपभोक्ता समितिलाई हस्तान्तरण नै नगरेका कारण बजेट खर्च हुन नसकेर फिर्ता गएको जानकारी दिनुभयो । ठेकेदारले उपभोक्ता समितिलाई ब्यारेज हस्तान्तरण नगरेकै कारण अलपत्र सिँचाइ योजनामा हात हाल्दा अख्तियारले कारबाही गर्ने डर रहेको नगरप्रमुख यादवको भनाइ छ ।
ठेकेदारले उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि मात्रै ब्यारेज सुचारु गर्न पालिका वा प्रदेश सरकारले लगानी गर्ने वातावरण बन्ने नगरप्रमुख यादवले बताउनुभयो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन मलङ्गवाले उपलब्ध गराएको विवरण अनुसार सोरमखोला सिँचाइ योजना निर्माणका लागि २०६९ साल असार ६ गते रमण कमल जेभी जनकपुरसँग तीन करोड ९१ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
कार्यालयमा भर्खरै सरुवा भएर आउनुभएका कार्यालय प्रमुख श्यामकुमार तिमल्सिनाका अनुसार सोरमखोला सिँचाइ योजनाको ९९ प्रतिशत काम पूरा भइसकेको विवरण कार्यालयमा भए पनि फरफारक हुन बाँकी रहेको देखिन्छ ।
२७० हेक्टर जग्गामा सिँचाइ पुर्याउने लक्ष्य रहेको सिँचाइ योजना लामो समयदेखि अलपत्र रहेकोबारे आफूले थप बुझ्ने कार्यालय प्रमुख तिमल्सिनाले बताउनुभएको छ । सोरमखोलामा ब्यारेज निर्माण गर्ने निर्माण व्यवसायी बाढी आएर ब्यारेजमा क्षति पुर्याएपछि सम्पर्कमै नआएका जलस्रोत तथा सिँचाइ विकास डिभिजन मलङ्गवाको संस्थागत शाखा प्रमुख लक्ष्मण ठाकुरले बताउनुभयो ।
सर्लाहीको क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महिन्द्रराय यादवले आफू सिँचाइमन्त्री रहँदा शिलान्यास गरेको ब्यारेज निर्माणकै क्रममा प्राविधिक गडबडी हुँदा बाढी आएर क्षति गरेको बताउनुभयो । अहिले प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमातहत रहेको अलपत्र ब्यारेजलाई सुचारु गर्न प्रदेश सरकारले ध्यान नदिएको प्रतिनिधि सभा सदस्य यादवले आरोप लगाउनुभएको छ ।
अलपत्र ब्यारेजमा प्राविधिक त्रुटि सच्याएर सञ्चालनमा ल्याउन सङ्घीय सरकारलाई घचघच्याइरहेको प्रतिनिधि सभा सदस्य यादवको भनाइ छ । मेहनती किसान र राम्रो उब्जनी हुने उर्वर खेत रहेको फाँटमा लामो समयदेखि ब्यारेज अलपत्र रहँदा आफूलाई असाध्यै दुःख लागेको यादवले बताउनुभएको छ ।