अविनाश चौधरी
धनगढी, फागुन २७ गते । सङ्घीय सरकारले प्रादेशिक आपतकालीन गोदामघर सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गृहमन्त्री रमेश लेखकले मङ्गलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण गर्नुभयो ।
धनगढी विमानस्थलमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले निर्माण गरेको आपतकालीन गोदामघर आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी अब प्रदेश सरकार मातहतमा आएको छ ।
आपतकालीन गोदाम घरको व्यवस्थापन अब प्रदेश सरकारले गर्ने गृहमन्त्री लेखकले बताउनुभयो । उहाँले गोदामघरको रेखदेख, नियन्त्रण प्रदेश सरकारले गर्ने र आवश्यक परेको बेला प्रयोग गर्ने उल्लेख गर्नुभयो । गोदामघरमा सामानहरू सङ्घीय सरकारले पनि पठाउने गृहमन्त्रीको भनाइ थियो ।
उहाँले यस्तो गोदामघर प्रत्येक पालिकामा पनि व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । “प्रदेश सरकारले पालिकालाई अनुदान दिँदा त्यसमा गोदामघरको लागि तोकेर नै पठाइ दिँदा हुन्छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “किनभने जुनसुकै बेला जोखिम हुन सक्ने खतरा छ । हामी जोखिममा छौं । कहाँनिर के हुन्छ, थाहा छैन । जुनसुकै विपद् भएमा व्यवस्थापन गर्ने पहिलो निकाय स्थानीय सरकार हो । त्यसैले यस्तो गोदामघर स्थानीय सरकारमा पनि हुनु पर्दछ ।”
यसैगरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले गोदाम प्रदेश सरकारलाई हस्तान्तरण गरेर अत्यन्त सह्रानीय कार्य गरेको उल्लेख गर्नुभयो । यो पनि सङ्घीयता कार्यान्वयनको एक पाटो रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रदेशभित्र रहेका हरेक संरचनाले प्रदेश सरकारलाई चिन्नु पर्दछ ।”
गोदाममा विपत् सम्बन्धित सामग्रीहरू भण्डारन रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।