बागलुङ समाचारदाता
बागलुङ, फागुन २७ गते । केन्द्रीय विद्युत्को अभाव हुँदा करोडौँको लगानीमा बनेका चिस्यान केन्द्र प्रयोगविहीन बनेका छन् । बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा निर्मित चिस्यान केन्द्र विद्युत् अभावमा प्रयोगविहीन बनेका हुन् ।
निसीखोला–२ को देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाले १० मेट्रिक टन क्षमताका दुई च्याम्बर रहेको चिस्यान केन्द्र बनाएको छ । कृषि विकास निर्देशनालय पोखराको ११ लाख ७८ हजार रुपियाँको लगानीमा चिस्यान केन्द्र निर्माण गरिएको हो । निसीमा केन्द्रीय विद्युत् विस्तारमा ढिलाइ हुँदा चिस्यान केन्द्र सञ्चालनमा कठिनाइ भएको हो । हालै गाउँमा विद्युत् विस्तार भएको र विद्युत् जडानपछि चिस्यान केन्द्र सञ्चालन गर्न सहज हुने वडाध्यक्ष कुलवीर विश्वकर्माले आशा व्यक्त गर्नुभयो ।
यस्तै तमानखोला गाउँपालिकामा निर्मित १३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन । गत आर्थिक वर्ष गण्डकी प्रदेशको ५० लाख, सङ्घीय सरकारको समपूरक बजेटमा ४५ लाख र गाउँपालिकाको १५ लाख गरी एक करोड पाँच लाख रुपियाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । “केन्द्रीय विद्युत् विस्तार नहुँदा चिस्यान केन्द्र प्रयोगमा आउन सकेको छैन,” गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “गाउँमा विद्युत् विस्तारका लागि पोल गाड्ने र तार तान्ने काम भइरहेको छ । विद्युत् आएपछि केन्द्र सञ्चालनमा आउँछ ।” आलु प्रशस्त उत्पादन हुने तमानखोला–४, लाम्मेलामा ठाउँ छनोट गरेका किसान विद्युत् नपुग्दा चिस्यान केन्द्र प्रयोग गर्न नपाउनेमा चिन्तित भएका हुन् ।
आलुका लागि उर्वर ढोरपाटन नगरपालिका–९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रुद्रताल कृषि समूहले प्रयोग गर्ने गरी चिस्यान केन्द्र बनाएको छ । १० लाख रुपियाँ परियोजनाको र स्थानीयको श्रमदान गरेर १५ लाख रुपियाँ लागतमा चिस्यान केन्द्र बनेको हो । उक्त केन्द्रमा बिउका लागि १५ मेट्रिक टन आलु भण्डारण गर्दै आएको स्थानीय भद्रमणी पौडेलले जानकारी दिनुभयो ।
ढोरपाटनको तीन हजार ५० हेक्टरमा गरिएको आलु खेतीबाट गत वर्ष ५४ हजार आठ सय १० मेट्रिक टन उत्पादन भएको थियो । यस क्षेत्रमा आलु उत्पादन बढाएर किसानलाई व्यावसायिक बनाउने लक्ष्य राखिएको छ । ताराखोला गाउँपालिका वडा नं. ४ को करिमेलामा परियोजनाले १० मेट्रिक टन क्षमताको बिउ भण्डारण बनाएको छ । परियोजनाको २१ लाख र स्थानीयवासीको चार लाख रुपियाँ गरी २५ लाख रुपियाँमा चिस्यान केन्द्रको भवन बनेर सञ्चालनमा आएको हो ।
तत्कालीन कृषि विकास कार्यालयले बनाएको जैमिनी नगरपालिका–४, सर्कुवास्थित ५० मेट्रिक टन क्षमताको सोलार भण्डार केन्द्र प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । प्रदेश सरकारको साझेदारीमा काठेखोला गाउँपालिका–३, धम्जामा ५० मेट्रिक टन क्षमताको आलु भण्डारण केन्द्र सञ्चालनमा छ ।