• २८ फागुन २०८१, बुधबार

रोकियो मूलढोका निर्माण

blog

तानसेन समाचारदाता

तानसेन, फागुन २७ गते । ऐतिहासिक पाल्पा दरबारपरिसरको मूलढोकाको निर्माण रोकिएको छ । जीर्ण भएर दुई वर्षअघिदेखि पुनर्निर्माण भइरहेको मूलढोकाको निर्माण कार्य रोकिएको हो ।  बजेट नहुँदा मूलढोकाको निर्माण रोकिएको पुरातत्व विभागले जनाएको छ । मूलढोका जीर्ण भएको भन्दै दुई वर्षअघि निर्माणको काम सुरु गरिएको थियो । विभागले जीर्ण मूलढोकाको पुनर्निर्माण गर्न एनपिएस कन्स्ट्रक्सन भक्तपुरसँग ८१ लाख ९५ हजार रुपियाँमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । सम्झौतामा उल्लेख भए अनुसार ठेकेदारले काम सके पनि मूलढोका पूरा बन्न सकेको छैन ।  

ठेकेदारले हालसम्म ४६ लाख रुपियाँ मात्र भुक्तानी पाएको र अझै ३५ लाख भुक्तानी पाउन बाँकी रहेको पुरातत्व विभागका सम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले जानकारी दिनुभयो । विभागसँग बजेट नहुँदा मूलढोकाको निर्माण अवरुद्ध भएको उहाँले बताउनुभयो । दुई वर्षअघिको काम सकिएको र पूरै काम गर्न बजेट नहुँदा समस्या भएको उहाँले बताउनुभयो । अब अर्को वर्ष मूलढोकाका सबै काम गर्ने गरी बजेट व्यवस्था गरिने शाखा प्रमुख पौडेलले बताउनुभयो । 

मूलढोकाको जग उठाएर ढोकाको दुई भागको पर्खाल उठाइसकिएको छ । अब छाना छाउन, ढोका राख्न र शृङ्गारको काम बाँकी रहेको पुरातत्व विभागले जनाएको छ । मूलढोकाको बाँकी काम गर्न थप ५० लाख रुपियाँभन्दा बढी बजेटको व्यवस्था गर्नुपर्ने छ । 

मूलढोका समयमै सम्पन्न नहुँदा यसबारे नकारात्मक सन्देश फैलिएको स्थानीयवासी बताउँछन् । पाल्पाको ऐतिहासिक मूलढोका समयमै सम्पन्न नगरी त्यसै छाड्दा मूलढोकाको अवलोकनका लागि पाल्पा आएका स्वदेशी तथा विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको स्थानीयवासी बालमप्रसाद बैँजूले बताउनुभयो ।