गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २७ गते । वस्तु निर्यात गरेर मुलुकले प्राप्त गर्ने आम्दानी नेपालीले विदेश भ्रमणमा गर्ने खर्च करिब बराबर हुने पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्क अनुसार यस अवधिमा मुलुकले वस्तु निर्यात गरेर एक खर्ब २७ अर्ब रुपियाँ आम्दानी गरेको छ । जबकि सात महिनामा भ्रमणकै लागि नेपालीले एक खर्ब १६ अर्ब रुपियाँ खर्च गरेको तथ्याङ्कले देखाउँछ । निर्यातको आम्दानी र भ्रमणमा बाहिरिने खर्चको अन्तर केवल ११ अर्ब रुपियाँ छ ।
विदेश भ्रमणमा नेपालबाट बाहिरिने रकम निरन्तर बढिरहेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाउँछ । गत आवको सात महिनामा एक खर्ब चार अर्ब रुपियाँ यस शीर्षकमा बाहिरिएको थियो । एक वर्षकै अन्तरमा भ्रमणका लागि बाहिरिने रकम १२ अर्ब रुपियाँले बढेको देखिन्छ ।
चालु आवको समीक्षा अवधिमा खास गरी व्यक्तिगत भ्रमणमा बाहिरिने रकम एक खर्ब १३ अर्ब रुपियाँ पुगेको छ । त्यस्तै, व्यावसायिक भ्रमणका लागि दुई खर्ब ५९ अर्ब रुपियाँ बाहिरिएको तथ्याङ्क छ ।
भ्रमणका लागि नेपालबाट बाहिरिने रकम बढे जस्तै भित्रिने रकम पनि बढिरहेको देखिन्छ । यस अवधिमा नेपालले भ्रमणबाट ४९ अर्ब रुपियाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४५ अर्ब ६८ करोड रुपियाँ आम्दानी भएको थियो ।
विप्रेषणले धान्दैन आयात
राष्ट्र बैङ्कका अनुसार सात महिनामा विप्रेषण आप्रवाह नौ खर्ब ५८ करोड रुपियाँ पुगेको छ । गत आवको सोही अविधमा यस्तो आयात करिब १९ प्रतिशतले बढी हो तर प्राप्त विपे्रषण वस्तु आयातका लागि पनि पर्याप्त देखिँदैन ।
मुलुकले सात महिनामा नौ खर्ब ८८ अर्ब रुपियाँको वस्तु आयात गरेको केन्द्रीय बैङ्कको तथ्याङ्क छ । यस हिसाबले विप्रेषण ८८ अर्बले न्यून देखिन्छ ।
मुद्रास्फीति घट्यो
राष्ट्र बैङ्कको तथ्याङ्कले मुद्रास्फीति घटेको देखाउँछ । मुद्राको क्रय क्षमता मापन गरिने र बोलिचालीको भाषामा महँगी दर भनिने मुद्रास्फीति ४.१६ प्रतिशत रहेको तथ्याङ्क छ । गत आवको सोही अवधिसम्म यस्तो दर ५.०१ प्रतिशत थियो । सरकारले पनि मुद्रास्फीति दर सीमाभित्रै रहेको दाबी गर्दै आएको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
मजबुत बाह्य अर्थतन्त्र
आन्तरिक अर्थतन्त्रमा माग घटेर शिथिलता छाइरहेको चर्चा चलिरहँदा मुलुकको बाह्य क्षेत्र भने बलियो देखिएको छ । सात महिनामा मुलुकको चालु खाता एक खर्ब ६६ अर्ब ८० करोड रुपियाँले बचतमा रहेको छ । त्यस्तै शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब रुपियाँले बचतमा देखिन्छ । मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर अवस्था डेढ वर्षयता निरन्तर बचतमा देखिन थालेको छ ।
त्यस्तै मुलुकसँग २१ खर्ब पाँच अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सञ्चिति पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब पाँच करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ । मुलुकसँग रहेको विदेशी मुद्राको सञ्चिति विद्यमान आयात प्रवृत्ति अनुसार १७ महिनाको वस्तु आयातका लागि पर्याप्त हुन्छ ।