• २८ फागुन २०८१, बुधबार

विदेशी शक्तिको आडमा राजावादी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन २७ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनतामा बढ्दै गएको निराशा, असन्तुष्टिबाट प्रतिगमनकारी शक्तिले फाइदा उठाउन खोजेको निष्कर्ष निकालेको छ । माओवादी  पदाधिकारीको सोमबार बसेको बैठकले विदेशी शक्तिको आडमा आन्तरिक कमजोरीको फाइदा उठाएर राजावादी शक्तिको मनोबल बढेको नेताहरूले बताएका हुन् । 

पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारले प्रभावकारी कार्यसम्पादन गर्न नसक्दा राजावादी शक्तिले चलखेल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले देश र जनताको पक्षमा प्रभावकारी काम गरेको भए यस्ता पुरातनवादी शक्ति सल्बल्याउने थिएनन् । सरकारले जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न सकेन । त्यसकै फाइदा उठाएर यथास्थिति, पुरातनवादी फेरि राजा ल्याउन सकिन्छ भनेर लागेका छन् ।” उहाँले अहिलेकै अवस्थामा राजसंस्था फर्किन सक्ने सम्भावना नभए पनि पुरातनवादीले अस्थिरता मच्चाउन खोजेको बताउनुभयो । 

यथास्थितिवादी, प्रतिगमनकारीलाई परास्त गर्दै भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा अभियान अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्को भूमिकालाई प्रभावकारी बनाउनैपर्ने छ । केन्द्रीय राजनीतिलाई हस्तक्षेप नगरेर केही हुँदैन भन्ने भयो । आफ्ना गतिविधि केन्द्रमा केही दिन जारी राख्ने छौँ । त्यसपछि तराई/मधेश जागरण अभियानमा लाग्ने छौँ ।” मङ्गलबार बस्ने पदाधिकारी बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियानबारे निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।