• ८ वैशाख २०८२, सोमबार

पहिलो पटक लिमी पुग्यो आयोडिनयुक्त नुन

blog

लिमीको हल्जीगाउँमा आयोडिनयुक्त नुन वितरण गरिँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन २५ गते । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीमा पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको आयोडिनयुक्त नुन पुगेको छ । नाम्खा गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै वडाको पहलमा नुन लिमी पुगेको र स्थानीयले उपभोग गर्न पाएका छन् । 

लिमीको हल्जीगाउँका फुर्बा तामाङले सिङ्गो गाउँवासीले पहिलो पटक आयोडिनयुक्त नुन उपभोग गर्न पाएको बताउनुभयो । यसअघि ढिकेनुन प्रयोग गर्दै आएकामा यस पटकबाट लिमीको हल्जीगाउँका स्थानीयले आयोडिनयुक्त नुनको प्रयोग गर्न पाएको उहाँले जनाउनुभयो । लिमीबाहिर जाँदा मात्र आयोडिन नुनको उपभोग गरेको स्मरण गर्दै उहाँले अब गाउँमै उक्त नुन प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

लिमी हल्जीगाउँकी फुटी तामाङले नुन भनेको ढिकेनुन मात्र भएको जानकारी भएको सन्दर्भमा आयोडिनयुक्त नुन दैनिक उपभोग गर्न पाएको बताउनुभयो । अहिले पनि उहाँलाई आयोडिनयुक्त नुनको उपभोगबाट हुने फाइदाबारे जानकारी नभएको बताउँदै यसको महत्व देखाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । लिमीको गाउँ स्थापना भएयता चिनियाँ ढिकेनुन प्रयोग गरिरहेका छन् । वडाको पहलमा गाउँमा आयोडिनयुक्त नुन पुगेको उहाँको भनाइ छ । 

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले निक्कै लामो प्रयासपछि लिमीमा लिमिटेडको ढुवानी अनुदानको नुन प्रयोग गर्न पाएको बताउनुभयो । उहाँले पहिलो पटक १२० क्विन्टल नुन लिमी पुर्‍याएर स्थानीयलाई वितरण गरेको र अब उक्त नुन लिमीवासीले उपभोग गर्न सुरु गरेको जनाउनुभयो । हुम्लामा सबैभन्दा सस्तो लिमिटेडको आयोडिनयुक्त नुनको मूल्य पर्छ । हुम्लामा प्रतिकेजी नौ रुपियाँमा सो नुन बिक्री हुँदै आएको छ । यसअघि ढुवानी महँगो पर्ने भएपछि लिमीमा नुन लिन सकिएको थिएन । अहिले लिमीसम्म सडक सञ्जाल जोडिएपछि लिन सुरु गरिएको उहाँको भनाइ छ । 

यस पटक नुन नाम्खा गाउँपालिका केन्द्र याल्वाङबाट लिमी ढुवानी गरेको प्रतिकेजी २० रुपियाँ तिर्नु परेको उहाँले बताउनुभयो । याल्वाङसम्म ढुवानी लिमिटेडले तिर्ने र त्यताबाट लिमीको हल्जीगाउँसम्म नुन ढुवानी गरेको भाडा वडाले तिरेको हो । हाल हल्जीगाउँमा ९१ घरधुरीका २१३ स्थानीय बासिन्दाले नुन उपभोग गरिरहेका छन् । यस पटक ढुवानी जेनतेन वडाले तिरेको भन्दै उहाँले अर्को सालबाट लिमिटेडलाई नै ढुवानीका लागि व्यवस्था गर्न आग्रह गर्नुभयो । लिमिटेड हुम्लाका प्रमुख राजबहादुर लामाले पहिलो पटक लिमीमा नुन पुर्‍याउन सफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा लिमीमा नुन ढुवानी जारी राखिने जानकारी दिनुभयो ।