पत्रकार गजेन्द्र बुढाथोकी हालै प्रकाशित ‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ पुस्तकले १७५ वर्षअघि भएको जङ्गबहादुर राणाको बेलायत यात्रालाई बुझ्न सहयोग पुग्छ । बेलायतका सेना, सैन्य उद्योग र अरू हतियार क्षेत्रको भ्रमणमा जङ्गबहादुरले जोड दिएको पुस्तक अध्ययन गर्दा थाहा हुन्छ । तथापि यसलाई लेखकले सैन्य उद्देश्यका लागि भनेर किटान गर्नुभएको त छैन तर तथ्य, तथ्याङ्क दिएर त्यसको सोझो सङ्केत गर्नुभएको छ ।
लखनउ विद्रोहमा सेना पठाएर १० लाख कि जमिन भन्दा जङ्गबहादुरले जमिन भनेर बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लिएको तथ्य लेखक बुढाथोकीले भेट्नुभएको छ । पुस्तकमा त्यही छ । जङ्गबहादुर राणाको विश्व दृष्टि र देशको शक्ति देखाउने कदमबारे सुधीर शर्माले ल्याएको पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ मा पनि बुझ्न सकिन्छ । चीनमा धार्मिक दङ्गाको समयमा सेना आवश्यक परेमा दिन तयार छु भनेर उनले भनेको त्यहाँ सन्दर्भसहित राखिएको छ । उत्तरमा भोटसँग गुमेको भूमिका र अतिरिक्त भूमिका लागि उनले यस्तो गरेका थिए ।
इस्ट इन्डिया कम्पनी जस्तो दक्षिण एसियाली शक्ति हुँदाहुँदै सिधै बेलायत पुगेर बादशाह खास गरी भिक्टोरियासँग ‘डिल’ गर्ने र बेलायतसँग उठबस गरे पनि उत्तरी बादशाहसँग पनि एक खालको मित्रता देखाउने जङ्गबहादुर राणाको कूटनीतिक कौशल भव्य नै मान्न सकिन्छ । अझ नेपालीलाई बेलायती फौजमा लाने होइन, आवश्यक पर्दा बेलायतलाई सैन्य सहयोग गर्ने भन्ने उनको लाइन थियो भनेर गोर्खाका इतिहासकार टिम आई गुरुङले लेखेको पढ्दा उनी देशभक्त देखिन्छन् ।
उनै जङ्गबहादुर राणाको बेलायत यात्रा उनको युरोपसँग गरेको कूटनीतिक ‘अप्रोज’ को एक जीवन्त नजिर हो । यसलाई विभन्न कोणबाट विभिन्न किताबमा लेखिइसकेका छन् । ती सबैलाई साभार गरेर र नयाँ केही खोजखाज गरेर गजेन्द्र बुढाथोकीले ल्याउनुभएको यो पुस्तक उहाँकै भाषामा ‘इतिहासको एक महŒवपूर्ण घटनाव्रmमलाई पुनर्जीवित गर्ने र रोचक बनाउने एउटा सानो प्रयास’ हो । पुस्तकमा आर्थिक कोण, कूटनीतिक कोण, नेपालीपनको कोण र विभिन्न अरू रोचक कुरा छन् ।
आर्थिक कोणमा बुढाथोकीले सकेसम्म र भेटेसम्म अङ्कमा भन्ने प्रयास गर्नुभएको छ । जङ्गबहादुर राणा बेलायत पुग्न चढेको ह्यान्डिङ्टन जहाजको चार्टर शुल्क पाँच हजार पाउन्ड लागेको कुरा, बेलायती नगरबधु लाउरा बेलको उपहारमा दिइएको साढे दुई लाख पाउन्डको कुरा, कोलकाताबाट बेलायत जानुअगाडि ओडिसाको जगन्नाथ मन्दिरमा तथा फर्केर आउँदा गुजरातको द्वारकामा दान दिएको पाँच हजार रुपियाँको कुरा होस् वा बेलायतमा बिराम पर्दा सर बेन्जामिन ब्रोडीलाई उनको पारिश्रमिक दुई÷चार पाउन्डभन्दा धेरै पाँच सय पाउन्ड अफर गरेको कुरा सबै अङ्कमा आएका छन् । फ्रान्समा होटेल सेन्ट होनोरेमा पाँच फ्राङ्कका लागि भएको मुक्का हानाहानको कथा अङ्कमै छन् ।
कूटनीतिक कोणमा जङ्गबहादुर राणाले बेलायत भ्रमण गरे पनि उनले बेलायत मात्रै भ्रमण गरेनन् । अर्को छिमेकी विश्व शक्ति फ्रान्सको पनि भ्रमण गरे । बेलायती महारानी भिक्टोरियादेखि फ्रान्सका राष्ट्रपति लुइस नेपोलियन बोनापार्टसँग भेट्नुले उनको कूटनीतिक सन्तुलनको एक विम्ब बोल्छ । सन् १८५० जुन १९ मा महारानी भिक्टोरियासँगको भेटलाई लेखक बुढाथोकीले ऐतिहासिक भनेर थप्नुभएको छ, “हिमालको काखमा रहेको सानो तर गौरवशाली राष्ट्रको प्रतिनिधित्व गर्दै नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायती महारानी भिक्टोरियासँग पहिलो पटक भेट्ने अवसर पाउँदै थिए ।” उसो त उनले रुस र जर्मनीको पनि भ्रमण गर्न चाहेको तर राजकाजको जिम्मेवारी बोझको हतारोले उनी नेपाल फर्किएको देखिन्छ ।
नेपालीपनको कोण तत्कालीन शासकीय सन्की र नेपाली कलाकृति दुवैमा झल्किएको छ । जस्तै काटमार गरेर आएका जङ्गबहादुर राणाले आफू बेलायतमै हुँदा सन् १८५० जुन २७ मा महारानी भिक्टोरियालाई आव्रmमण गर्ने रोबर्ट पाटेलाई दिनुपर्ने सजायमा उनले भनेका थिए, “यस्ता घृणित अपराधीलाई झुन्ड्याउनु पर्छ ।” महारानी भिक्टोरियाले भने झुन्ड्याउनेभन्दा बेलायती कानुन अनुसार चल्ने भनेकी थिइन् । नेपाली कलाकृतिको मौलिकता झल्काउन उनले तराईका सामग्री लगे भारत जस्तो देखिने र हिमालका सामग्री लगे तिब्बती तथा चिनियाँ देखिने भएर ‘नेपालीपन’ झल्काउन काठमाडौँ र आसपासको मध्य पहाडी क्षेत्रका कलाकृति लिएर गएको पुस्तकमा प्राध्यापक तथा इतिहासकार त्रिरत्न मानन्धरको कुरालाई साभार गरिएको छ । जङ्गबहादुर राणाले बेलायत पुग्ने व्रmममा श्रीलङ्का, इजिप्ट, माल्टा जस्ता देशको बाटो भएर यात्रा गरेका थिए । उनलाई यी स्थानमा सलामी दिइएको थियो । सम्मान दिइएको थियो । इजिप्टका शासकले त घोडा उपहार दिएका थिए । त्यसैले यो उनको बेलायत यात्रा र फ्रान्स यात्रा मात्रै नभएर श्रीलङ्का, इजिप्ट र माल्टको पनि यात्रा भनेर ती देशसँगको सम्बन्धमा यो सवाल जोड्न सकिन्छ र सँगै अर्को प्रश्न सोध्न पनि सकिन्छ– १७५ वर्षअगाडि बेलायत, फ्रान्स जस्ता विश्वशक्तिले दिएको भेट र भाउ अहिलेका सत्ताधारीलाई किन दिइएको छैन ?
पुस्तकमा कमजोरी नभएका होइनन् । एकै कुरालाई फरक फरक रूपमा लेखिएको छ । बेलायत जाने स्टिमरको नाम पुस्तकको गातामै एक स्थानमा ‘हेडिङ्टन’ त अर्को स्थानमा ‘ह्यान्डिङ्टन’ लेखिएको छ । पेज ७२ मा कतै लुई नेपालियन त कतै लुइस नेपोलियन भनेर पाठक अलमल पर्ने अवस्था छ । जङ्गबहादुरको बेलाइत यात्राको पुस्तकको नाममा बेलाइतको स्थानमा ‘बिलायत’ भनिएको छ । पुस्तक लोकार्पणकै दिन इतिहासका अध्ययनकर्ता यादव देवकोटाले जङ्गबहादुर राणाको अन्त्यतिर आएका ग्रन्थमा जस्तै जन्मस्थानकै गोलमालको कुरा गर्नुभएको थियो । यी र यस्ता केही देखिने कमजोरी भए पनि पुस्तक पठनीय छ । जङ्गबहादुर राणाको बारेमा बेलायती तथा फ्रान्सेली भाषाका अखबारका समाचार टुव्रmा र उनले बेलायतमा पाएको जिसिबी सम्मानको तक्मा पनि पुस्तकमा राखिएकाले अरू यसअगाडिका किताबभन्दा केही पृथक् देखिन्छ ।