• १३ वैशाख २०८२, शनिबार

द्वन्द्वको पीडा सिर्जनामा

blog

द्वन्द्वपीडित धर्मराम वडले तयार गर्नुभएको काठको खोलदेली (चौकस) । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, फागुन २३ गते ।   द्वन्द्वमा आफन्त गुमाएको परिवार द्वन्द्वको पीडा भुल्न पुख्र्यौली पेसाको सिर्जना कर्ममा लागेको पाइएको  छ । बैतडी पञ्चेश्वरका धर्मराम वड (ओड) ले द्वन्द्वमा मारिएकी आफ्नी १९ वर्षीय दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मूर्तिकला उद्योग सञ्चालन गरेर आफ्नै पुख्र्यौली पेसा सुरु गर्नुभएको छ ।  

पञ्चेश्वर गाउँपालिका–४, आमचोरास्थित उज्ज्वलगाउँका ३४ वर्षीय युवा धर्मराम वडले पुख्र्यौली सिपबाट काठका खोलदेली (कलात्मक झ्यालढोका) मा बुट्टा कोर्दै, मूर्ति बनाउने काम गर्दै आउनुभएको छ । पुख्र्यौली पेसाले द्वन्द्वको पीडा मात्रै भुलाएको छैन, घरपरिवारको हातमुख जोड्ने बाटोसमेत पहिल्याएको छ ।  

धर्मराम वड १४ वर्षको छँदा जेठी दिदी १९ वर्षीय रोशनी वड (रचना) माओवादीको आरोपमा मारिइन् । घटना स्मरण गर्दै उहाँले भन्नुभयो, “यो २०६१ सालको कुरा हो । त्यति बेला म १४ वर्षको थिएँ । घरको खानतसाली गर्न पटक पटक सुरक्षाकर्मी आउन थालेपछि केही समय पढ्न पाइनँ । शान्तिप्रव्रिmयापछि प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्न सफल भएँ ।”

घरको एक्लो छोराका रूपमा रहेका धर्मले विद्यालय शिक्षा पूरा गरेर आर्थिक अभावले उच्च शिक्षा हासिल गर्न सक्नु भएन । चार जना बहिनीमध्ये जेठी दिदी सहिद भइन् भने अन्य तीन जनाको विवाह भयो । राज्यबाट पाएको क्षतिपूर्तिले तीन जना बहिनीको शिक्षादीक्षा र आफ्नो पढाइमा सहयोग पुगेको उहाँले बताउनुभयो । तिनै जना बहिनीको विवाहपछि आमाबुवाको हेरचाह गर्ने सहारा नहुँदा धर्मरामले कतै जाने मौका नपाएपछि बुवा/बाजेसँग भएको पुख्र्यौली सिप सिक्न सुरु गरेको बताउनुभयो ।  

बाजेबाटै उहाँका बुवा कमल वडले पनि उक्त सिप सिक्नुभएको थियो । कमल वड अहिले ६६ वर्षको हुनुभयो ।  छोरीको सद्गतिसमेत गर्न नपाएकोमा ६६ वर्षीय वृद्ध कमल वड अहिले पनि भावुक बन्नुहुन्छ । छोरीका लागि केही गर्न नसके पनि द्वन्द्वको पीडा भुलाउन उहाँले छोरीका नाममा  मूर्तिकला उद्योग सञ्चालन गर्न छोरा धर्मरामलाई सुझाव दिनुभयो । 

सरकारले सहयोग गरेमा पुख्र्यौली सिप सिकाएर गाउँका युवालाई दक्ष बनाउने धोको रहेको वडले बताउनुभयो । धर्मराम वडले पुख्र्यौली सिपसँगै आधुनिक उपकरणका रूपमा एक्साभेटरको नमुनासमेत तयार गर्नुभएको छ ।