ओखलढुङ्गा समाचारदाता
ओखलढुङ्गा, फागुन २२ गते । पर्यटन प्रवर्धनका लागि अनेक उपाय अपनाइएका छन् तर पछिल्लो समय चित्रकला पनि प्रवर्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । राष्ट्रिय तथा स्थानीय कलाकार साथै विभिन्न सङ्घ संस्थाले नेपालका प्रसिद्ध पर्यटकीय स्थललाई क्यानभासमा उतार्दै विश्वभर फैलाउने अभियान सुरु गरेका छन् । नेपालका चर्चित चित्रकार तथा मूर्तिकार धनु याक्खाको समूह ओखलढुङ्गा आइपुगेको थियो । उहाँसँग लिथुआनियाका चित्रकार मारियस र नेपालकै चर्चित चित्रकार विवेक मुकारुङ हुनुहुन्थ्यो ।
ओखलढुङ्गाको ठाँडे, जन्तरधाप र सोलुखुम्बुको पत्तालेबाट देखिने हिमशृङ्खलाको मनोरम दृश्य प्रत्यक्ष रूपमा चित्र बनाउनका लागि उहाँहरू यहाँ आउनुभएको थियो । जहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ । सबै चित्रकार र मूर्तिकारले आआफ्ना कुची चलाएर यस क्षेत्रका गन्तव्यको सुन्दरतालाई उजागर गर्ने गरी प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा तथा जनजीवन झल्कने चित्र तयार पार्नुभएको छ । उक्त चित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमार्फत पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिने चित्रकार याक्खाले बताउनुभयो । पर्यटकको आँखाले अहिलेसम्म नदेखेका स्थललाई चित्रमार्फत उजागर गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो । याख्खाका अनुसार दिगो पर्यटन विकासका लागि विभिन्न ठाउँमा पुगेर चित्र निर्माण गरी देश तथा विदेशका पर्यटकलाई आकर्षित गर्ने काम गरिएको छ ।