म्याग्दी, फागुन २२ गते । कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकारी ठगी सम्बन्धी मुद्दामा बेनी नगरपालिका १ का राजकुमार थापासहित पाँच जनालाई जिल्ला अदालत म्याग्दीले पुर्पक्षका लागि कारागार पठाएको छ ।
म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । १८ गते आइतबार देखि सुरु भएको बयान तथा २२ गते बुधवार सम्म भएको थुनछेक बहसपछि कुमारी सहकारीका पूर्व उपाध्यक्ष थापा, पूर्व अध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रुद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्व सदस्य लोकेस भन्ने लोकबहादुर पुनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सहकारी रष्टिार कार्यालय पोखराको पत्र अनुसार गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले फागुन ७ गते थप १ जनालाई गिरफ्तार गरेको थियो । प्रहरीले सर्वसाधारण बचतकर्तालाई आह्वान गरेको निवेदन अनुसार ६३६ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए ।
कुल एक अर्ब १३ करोड ३३ लाख ९९ हजार ३० रुपियाँ बिगो दाबी गर्दै सरकारी वकिल कार्यालय म्याग्दीले गत १५ गते जिल्ला अदालत म्याग्दीमा अभियोजन दर्ता गरेको थियो ।
गिरफ्तार गरिएका मध्ये सहकारीका पूर्व अध्यक्ष थम बहादुर गर्बुजा बिरामी भएर उपचाररत रहेकोले निको भएपछि अदालतमा हाजिर गराउन जिल्ला अदालत म्याग्दीले आदेश गरेको श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालयले गिरफ्तार भएका ६ सहित २५ जना विरुद्ध अदालतमा अभियोजन दर्ता गरेको थियो । फरार १९ जना जनालाई पक्राउ पुर्जी जारी गरी पक्राउ भई आएमा वा म्याद नाघेपछि नियम अनुसार पेस गर्न अदालतले आदेश दिएको छ । हाल जिल्ला प्रहरी कार्यालयले सिल गरेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयलाई सहकारी रजिस्ट्रारको कार्यालयसँग समन्वय गरेर १५ दिनभित्र सञ्चालन गरी अदालतमा जानकारी गराउन पनि आदेश भएको श्रेस्तेदार रेग्मीले बताउनुभयो ।
मंगला गाउँपालिका ३ का निर्वाचित वडा अध्यक्ष समेत रहनुभएको सहकारीका अध्यक्ष यामबहादुर रोका सहित १९ जना फरार रहेको प्रहरीले जनाएको छ । उहाँले वडा अध्यक्षको जिम्मेवारी वडा सदस्यलाई कार्यवाहक दिएर गएको माघ २० गते देखि सम्पर्क विहीन हुनुभएको मंगला गाउँपालिकाले जनाएको छ ।
सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दर्ता गरेको थियो ।