मुगु समाचारदाता
मुगु, फागुन २१ गते । जाडो छल्न बेँसी झरेका हिमाली क्षेत्रका भोटे समुदाय जाडो सकिएसँगै गाउँ फर्कन थालेका छन् । जाडो मौसम सुरु भएसँगै न्यानोको खोजीमा भोटे समुदाय छिमेकी जिल्ला जुम्ला र जिल्ला सदरमुकाम गमगढी आसपासका गाउँबस्तीमा झरेका थिए ।
उत्तरी छिमेकी मुलुक चीनको सिमानामा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका पाँच वटा बस्ती मुगुगाउँ, डोल्फुगाउँ, चितगाउँ, किसीगाउँ र कार्तीगाउँका समुदाय कात्तिकदेखि चिसो बढ्न थालेपछि बेँसी झर्ने गर्छन् । स्थानीय तोर्चे लामाका अनुसार चिसो छल्न बेँसी झरेकाहरू अब गाउँ फर्कन लागेका छन् ।
दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने घोडा र भेडाबाख्रा पाल्दै आएका भोटे समुदाय हिउँदका केही महिना हिमाली क्षेत्रमा हिउँ जम्ने र घोडा, भेडाबाख्रालाई खुवाउन घाँसपात नहुने भएकाले चरन र न्यानोको खोजी गर्दै बेँसी झर्छन् । गर्मीमा हिउँ पग्लेर घाँसपात उम्रन थालेपछि घोडाघोडी, भेडाबाख्रालगायत सबै बस्ती गाउँ फर्किने गरेका छन् ।
चिसो छल्न कात्तिक दोस्रो सातादेखि फागुन पहिलो सातासम्म गाउँ छोड्ने चलन रहेको स्थानीय तेन्जी लामाले बताउनुभयो । गाउँमा गर्मी बढ्न थालेपछि कात्तिके बाली आलु र चिनी लगाउन गाउँको थातथलोमा फर्किन लागेको मुगुमकार्मारोङ गाउँपालिका–३, चितैगाउँका स्थानीय पेमा लामाले बताउनुभयो । उहाँले चिसो छल्न गएका भोटे समुदाय र चरनका लागि लगिएका घोडाघोडी, भेडाबाख्रा गाउँ फर्काउन लागिएको उल्लेख गर्नुभयो ।
भोटे जातिका अधिकांश बालबालिकाले मौसमी बसाइँसराइका कारण विद्यालयमा पढाइ पूरा गर्नसमेत पाउँदैनन् । त्यसका लागि राज्यले कुनै व्यवस्था नगरेको उनीहरूको गुनासो छ । यता मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले कार्मारोङ गाउँपालिकाका भोटे जातिका बालबालिकालाई गाउँमै विद्यालय सञ्चालन गरेर पठनपाठनको व्यवस्था गरेको भए पनि हिउँदमा अत्यधिक चिसो हुने हुँदा एक महिना बिदा दिने गरेको बताउनुभयो ।
अभिभावक आफ्ना बालबालिका सँगै लिएर चिसो छल्न बेँसी जाने गरेका उहाँको भनाइ छ । हिमाली भेगमा बसोबास गर्ने भएको हुँदा हिउँले चिसो बढेपछि केही महिना चिसो छल्न भोटे जाति बेँसी झर्ने गरेको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।