• २० फागुन २०८१, मङ्गलबार

जनतालाई सेवा दिन सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशन

blog

धनुषाको महिनाथपुर सीमा नाकाको निरीक्षण गर्दै मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखी । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम ,फागुन २० गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कानुनको अधिनमा रहेर जनतालाई सेवा दिनका लागि सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । 

धनुषाको दुहवी महिनाथपुर सीमा नाकामा सशस्त्र प्रहरीले जनतालाई अनावश्क रुपमा सास्ती दिएको समाचार बाहिर आएपछि उक्त सिमानाकाको मंगलबार निरीक्षण गर्दै उहाँले यस्तो बताउनुुभएको हो । सीमा क्षेत्रमा व्यापकरुपमा तस्करी भइरहेको वारे जनगुनासो आएपछि निरीक्षणका लागि आज धनुषाको महिनाथपुर सीमा नाका पुग्नु भएका मन्त्री लेखीले तस्करी नियन्त्रणमा तदारुकताका साथ लाग्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो । 

मन्त्री लेखीलाई सशस्त्रको सीमा सुरक्षा वेश क्याम्प महिनाथपुरका प्रमुख एवम डिएसपी सुरज रिजालले सीमा क्षेत्रको अवस्था र सशस्त्र प्रहरीले गर्दै आएको कामकाजको बारेमा जानकारी गराएका थिए । दुई दिन अघि धनुषाको दुहवीमा स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले सशस्त्र प्रहरीको कामकाजप्रति असन्तुष्टी जनाउँदै उक्त क्षेत्रमा प्रदर्शन गरी नेपाल रेल्वेको सेवा केही वेर अवरुद्ध पारेको समाचार बाहिर आएपछि गृहमन्त्री लेखीले  दतारुकताको साथ उक्त सिमानाकाको निरीक्षण गर्नुभएको छ।