• २० फागुन २०८१, मङ्गलबार

मोरङमा दुई शव भेटिए

blog

सांकेतिक तस्बिर

हरि कोइराला 

उर्लाबारी, फागुन २० गते। मोरङको पथरीशनिश्चरेमा सोमबार बिहान एउटै रुखमा झुण्डिएको अवस्थामा दुई शव फेला परेका छन्।

पथरीशनिश्चरे –५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको हाँगोमा झुण्डिएको अवस्थामा उनीहरूलाई स्थानीयले फेला पारेका हुन्। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर भएकी २२ वर्षीया जुबामुनी हस्दा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन्। 

दुवै जना विवाहित रहेको प्रनाउ दाहालले बताउनुभयो। बिहान १० बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेको दाहालको भनाइ छ। 

प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ। मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको पथरीशनिश्चरे ५ का वडाध्यक्ष चेतेन्द्र खड्काले बताउनुभयो। वडाध्यक्ष खड्काका अनुसार अजयको घरमा पत्नी तथा चार र दुई वर्षका दुई जना छोरा रहेका छन्। 

प्रहरीले जुबामुनीको डेढ वर्षको एक छोरा रहेको जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ।