• २० फागुन २०८१, मङ्गलबार

सुरुङमार्गको काम रोकियो

blog

फाइल तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २० गते । निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम रोकिएको छ । स्थानीयवासीको अवरोधपछि सोमबारदेखि सुरुङमार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको हो । स्थानीयवासीले विभिन्न माग राख्दै आयोजनाको सुरुवातदेखि नै काम अवरोध गर्दै आएका छन् ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसननजिक रहेका केही घर आयोजनाकै कारण चर्किएको भन्दै त्यहाँका स्थानीयवासीले क्षतिपूर्ति माग राखी काम अवरोध गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत असोजमा धादिङको सिस्नेखोलामा आएको बाढीले ती ठाउँका केही घरमा क्षति पुगेको हो । आयोजनाका कारणले होइन । तर घरधनीले क्षतिपूर्ति माग गर्दै काम अवरोध गरेका हुन् ।”

निर्माणमा कुनै समस्या नआए २०८२ असोजभित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट सवारीसाधन चलाउने तयारी रहेको आयोजनाका अर्का इन्जिनियर रमेश कोइरालाले जानकारी दिनुभयो । 

तर पटक पटकको अवरोधले समयमा लक्ष्य अनुसारको काम हुन नसक्ने उहाँको भनाइ छ ।