बागलुङ समाचारदाता
बागलुङ, फागुन २० गते । पायक मिल्दो जग्गाको अभाव हुँदा दक्षिण बागलुङको जैमिनी नगरपालिकाभित्रका ठुला योजना अलपत्र परेका छन् । फोहोर व्यवस्थापनदेखि औद्योगिक ग्राम, विद्युत् सबस्टेसन, प्रहरी चौकीको भवन, व्यवस्थित वधशाला निर्माण, खेलकुदका लागि रङ्गशाला र पार्क निर्माणको योजना जग्गा अभावमा अलपत्र परेका हुन् ।
फोहोर व्यवस्थापनका लागि आवश्यक डम्पिङ साइटका लागि जग्गा अभाव हुँदा कुश्मीसेरा बजारदेखि जैमिनीधाम जाने सडक किनारमा फोहोर फलिँदै आइएको छ । स्तरोन्नतिका क्रममा रहेको कुश्मीसेरा–जैमिनीधाम जोड्ने सडक किनारमा फालिएको फोहोरले ठेउलेखोला समेत प्रदूषित बन्ने खतरा बढेको छ । जैमिनीका नगरप्रमुख नरबहादुर पुनले भन्नुभयो, “सानो ठाउँ छ, कसैले जग्गा दिँदैनन् । जग्गाकै अभाव हुँदा अधिकांश ठुला योजनामा असर परेको छ । जग्गा पाएमा देखिने गरी काम गर्न सकिन्छ ।”
जग्गा अभावकै कारण जैमिनीको औद्योगिक ग्राम बनाउने सपना पूरा हुन सकेको छैन । कम्तीमा ३५ देखि एक सय रोपनी जमिन भएमा मात्र तोकिएका उद्योग सञ्चालन गर्ने र भौतिक निर्माणका लागि प्रदेश सरकारले अनुदान दिने व्यवस्था छ तर जैमिनीले दुवै काम सुरु गर्न सकेको छैन । जैमिनीले निर्माण गर्न लागेका सबै ठुला योजनामा जग्गा प्राप्तीको चुनौती बेहोर्नु परेको नगरप्रमुख पुनको भनाइ छ ।
नगरप्रमुख पुन र उपप्रमुख हरिहर शर्माले केन्द्रीय तहसम्म समन्वय गरेर जैमिनीमा केही योजना, सडक र कार्यक्रममा बजेटको व्यवस्थापन गर्नुभएको छ तर जग्गा अभावमा कतिपय काम चाहेर पनि गर्न नसकिएको उपप्रमुख शर्मा बताउनुहुन्छ । नगरपालिकाले वडा नं. ५ बिनामारेमा पहिलो चरणमा फोहोर व्यवस्थापनका लागि ३० वर्षका लागि चार रोपनी जमिन व्यवस्थापनको तयारी गरेको छ । बिनामारेको जग्गा फोहोर व्यवस्थापनका लागि पर्याप्त नभएकाले थप जग्गाको खोजी भइरहेको पुनले जानकारी दिनुभयो ।
औद्योगिक ग्रामका लागि कम्तीमा ३५ रोपनी जग्गा चाहिने भएपछि बिनामारेमै जग्गाको खोजी भइरहेको छ । नवप्रवर्धन कार्यक्रम अन्र्तगत बाँस उद्योगका लागि चालु आर्थिक वर्षमा एक करोड रुपियाँ बजेट रहेको छ । उद्योग ग्रामका लागि विद्युत् चाहिने भएकाले सबस्टेसन स्थापना गर्न विद्युत् कार्यालयलाई सहयोग गर्ने गरी जग्गाको व्यवस्थापनमा लागेको उपप्रमुख शर्माले बताउनुभयो ।
जिप पार्कनजिकैको जग्गामा प्रहरी चौकीको भवन निर्माणको पहल भइरहेको शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, “भूगोल ठुलो भए पनि पूर्वाधार बनाउने स्थान सानो हुँदा आसपासका वडामा जग्गाको खोजी भइरहेको छ ।’