• २० फागुन २०८१, मङ्गलबार

पुडुचेरीका सभामुख र मन्त्री पोखरामा

blog

भारतको केन्द्र प्रशासित क्षेत्र पुडुचेरीका सभामुख आर सेल्भम नेतृत्वको टोली सोमबार स्वागतपछि गण्डकीको प्रदेशसभामा । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन १९ गते । भारतको केन्द्र प्रशासित क्षेत्र पुडुचेरीका सभामुखको नेतृत्वमा उपसभामुख पी राजवेलु, पर्यटन मन्त्री के लक्ष्मीनारायणसहित विधानसभा सदस्यहरू पोखरा आउनुभएको छ । सोमबार पोखरा आएको टोलीलाई गण्डकीका सभामुख कृष्णप्रसाद धितालले स्वागत गर्नुभयो । 

टोलीका सदस्यलाई सभामुख धितालले प्रदेशसभामा उहाँहरूलाई ढाकाटोपीसहित स्वागत गर्नुभयो । स्वागतपछि आयोजित अनुभव आदानप्रदान कार्यक्रममा सभामुख धितालले गण्डकीको टोलीले पुडुचेरी जाने प्रयत्न गर्ने उल्लेख गर्नुभयो । उहाँले पर्यटन प्रवर्धनका लागि सघाउन आग्रह गर्दै पुडुचेरीका असल अभ्यासहरू सिक्न चाहेको सुनाउनुभयो ।

पुडुचेरीका सभामुख आर सेल्भमले पोखरा जस्तो धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थानमा न्यायो स्वागत गरेकोमा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “पुडुचेरी पनि पर्यटकीय क्षेत्र हो । गण्डकी प्रदेशसभाको टोलीलाई भ्रमणका लागि निम्तो छ ।” भारतको केन्द्र प्रशासित क्षेत्र पुडुचेरी दक्षिण पश्चिम समुद्री किनारमा छ । तमलनाडु राज्य र बङ्गालको खाडीले घेरिएको पुडुचेरीका बासिन्दाको संस्कार, संस्कृति र भाषा तमिलनाडुसँग मिल्दोजुल्दो छ । 

“हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रदेशको व्यवस्था अभ्यास गर्दै छौँ, नयाँ छौँ,” उहाँले भन्नुभयो, “हामी तपाईंहरूको अभ्यास, अनुभवबाट सिक्न चाहन्छौँ ।” कार्यक्रममा गण्डकी प्रदेशको परिचय समेटिएका प्रस्तुतिहरू राखिएको थियो । गण्डकीकी उपसभामुख बिनाकुमार थापामगरले भ्रमणले नेपाल र भारतको सम्बन्ध प्रगाढ बनाउन र पर्यटन प्रवर्धनमा सघाउने अपेक्षा गर्नुभयो । 

पुडुचेरीको टोलीले सोमबारै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापासँग भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा पर्यटन प्रवर्धन, खेलकुदको विकास, सामाजिक क्षेत्र सुधार तथा सूचना प्रविधिमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्री थापाले बताउनुभयो ।