• २० फागुन २०८१, मङ्गलबार

ट्रयाक खुलेको ३२ वर्षपछि वालिङ-हुवास सडक कालोपत्र हुँदै

blog

स्तरोन्नतीका लागि बजेट विनियोजन भएपछि नापजाँच गर्दै सडक डिभिजन कार्यालय पोखराका प्राविधिक सहित स्थानीय जनप्रतिनिधिको टोली ।

साजन परियार 

पर्वत, फागुन १९ गते । दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र हुने भएको छ । विसं २०४९ सालमा मार्ग विस्तार गरिएको भए पनि अहिलेसम्म कच्ची र जोखिमपुर्ण अवस्थामा रहेको सडक कालोपत्र हुने भएको हो । 

वालिङ–हुवास सडक खण्ड अन्तर्गत भुम्रे–अर्चलबोट–तमादी–डुम्रेभञ्ज्याङसम्मको सडकको काम भैरहेको भएपनि बजेट अभावले अलपत्र परेको डुम्रेभन्ज्याङदेखि चिसापानी सम्मको खण्डमा पनि बजेट विनियोजन भएपछि कालोपत्र गर्न थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । 

सङ्घीय सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय मार्फत बहुवर्षीय आयोजना अन्तर्गत चालु आर्थिक वर्षका लागि रु. चार करोड रुपियाँ विनियोजन भएपछि सडक निर्माणको काम अघि बढाइएको हो । मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नापजाँच गरिसकेको छ । सडकको डिजाइन स्टिमेट तयार गरेर तत्काल टेन्डर आव्हान गरिने इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिनुभयो । 

पर्वत र स्याङ्जाको सिमाना चिसापानीदेखि डुम्रेभन्ज्याङसम्मको भाग नापजाँच गरी ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरिएको उहाँको भनाइ छ । चिसापानीदेखि हुवास-त्रिवेणी-वहाकी-रानीपानी सम्मको सडक भने यस अघिनै कालोपत्र भइसकेको छ । 

गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको पुर्वाधार विकास कार्यालयले उक्त सडक कालोपत्र गरेको हो । बाँकी रहेको डुम्रेभन्ज्याङदेखि चिसापानी सडक कालोपत्र भएपछि दक्षिण पर्वतका बासिन्दालाई यात्रा गर्न सहज हुने भएको छ । यो सडकबाट पर्वतको पैंयू गाउँपालिकाका सात, विहादीका छ वटा वडाका साथै महाशिला र फलेवास नगरपालिकाका बासिन्दा समेत लाभान्वित हुने भएका छन् । 

सडक कालोपत्र भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी काेरिडोरबिच पनि सिधा सम्पर्क विस्तार हुनुका साथै बैकिल्पक मार्गको रूपमा समेत प्रयोग गर्न सकिने छ । चालु आर्थिक वर्षभित्रै काम सुरु गर्नेगरी सडक डिभिजन कार्यालयले तयारी गरेको भुर्तेलले बताउनुभयो ।

मन्त्रालयबाट बजेट सुनिश्चित हुने वित्तिकै प्राविधिकहरू फिल्डमा आइसकेकोे र तत्काल निर्माणकार्य समेत सुरु हुने उहाँले बताउनुभयो । १६ किलोमिटर लामो वालिङ-हुवास सडक जिर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौ समय र जोखिम मोल्नुपर्ने अवस्था छ ।