• २० फागुन २०८१, मङ्गलबार

नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग

blog

काठमाडाैँ, फागुन १९ गते । नेपाल वन प्राविधिक सङ्घले नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग गरेको छ ।

सङ्घको स्वर्ण जयन्तीको अवसरमा आयोजित नीति संवाद कार्यक्रममा नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले नेपाल वन प्राविधिक परिषद् गठन गरेर जनसँग सम्बन्धित समस्याहरूको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले वनका कामहरू गर्नका लागि वनका प्राविधिकहरूको आधिकाररिकता दिन नेपाल वन प्राविधिक परिषद् आवश्यक हुने बताउनुभयो । 

परिषद् गठन भएको खण्डमा आधिकारिक रूपमा काम गर्न पाइने बताउनुभयो । वन व्यवस्थापनमा प्राविधिकहरूको कमि रहेको उल्लेख गर्नुभयो । परिषद् भएको खण्डमा वनसँग जोडिएका कामहरू पनि छिटो छरितो हुने बताउनुभयो । 

साथै सामुदायिक वनहरूको नवीकरणमा पनि सहयोग पुग्ने बताउनुभयो । उहाँले ४६ प्रतिशत वन क्षेत्रलाई अवहेलना नगर्न चेतावनी दिनुभयो । परिषद् गठन गरेर वनसँग सम्बन्धित कामहरू गरेको खण्डमा स्वदेशमै वन प्राविधिकहरूले रोजगारी पाउने र वनसँग सम्बन्धित क्षेत्रमा अन्य रोजगारीको सिर्जना हुने उल्लेख गर्नुभयो । विज्ञानमा आधारित वन व्यवस्थापन अहिलेको आवश्यकता भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, "मानव-वन्यजन्तु द्वन्द्वको व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा एउटा छलफल गरिरहेका छौँ भने अर्को वन डढेलोको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को छलफल भइरहेको छ । वन सम्वर्धनमा आधारित वन व्यवस्थापन वा विज्ञानमा आधारित वन व्यवस्थापन हुनुपर्छ । वन विकाससँग जोडिन नेपाल वन प्राविधिक परिषद् गठन तत्काल हुनुपर्छ । त्यसले वन प्राविधिकलाई वन र वन विकास गर्नका लागि सहज हुन्छ ।"

उहाँले वन क्षेत्र राज्यको प्राथमिकतामा नहुँदा वन प्राविधिक र उपभोक्ताहरू समस्यामा परेको बताउनुभयो । सङ्घले फागुन २० गते उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा स्वर्ण जयन्ती मनाउँदै छ ।