• १९ फागुन २०८१, सोमबार

कैलाशमा जिपलाइनको परीक्षण

blog

हेटौँडा समाचारदाता

हेटौँडा, फागुन १९ गते । मकवानपुरको सुन्दर पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकामा साहसिक खेल जिपलाइन निर्माण परीक्षण गरिएको छ । पर्यटकीय स्थलको प्रवर्धन र पर्यटक आकर्षित गर्न जिपलाइन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । पालिकाको २ नम्बर वडा वैकुण्ठमा निर्मित कैलाश–वैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षण गरिएको छ । जिपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष मुक्तान, २ नं. वडाध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले पहिलो चरणको परीक्षण गर्नुभएको हो । 

सञ्चालनको अन्तिम तयारीमा रहेको जिपलाइन कैलाश गाउँपालिकाको आफ्नो बजेटबाट निर्माण गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐनको एकल अधिकारभित्र पर्दैन । गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यसम्पादन समितिका सदस्यसमेत रहनुभएका कैलाश गाउँपालिकाका अध्यक्ष मुक्तानले पर्यटन पर्यावरणको प्रवर्धनमा यस खालका विकास स्थानीय तहको एकल अधिकारभित्र हुनु पर्छ भनी प्रस्ताव राख्नुभएको थियो । 

सोही अनुरूप सङ्घीय सरकार पनि सकारात्मक भएपछि जिपलाइनको निर्माण सुरु गरिएको उहाँले बताउनुभयो । कैलाश र वैकुण्ठका दुई पहाडलाई जोड्दै एक हजार दुई सय मिटर लामो जिपलाइन निर्माण गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो । उहाँले पर्यटन, पर्यावरणको विकासमा कैलाश गाउँपालिका पछि नहट्ने भन्नुभयो । जिपलाइन सञ्चालनपछि धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जिपलाइन पारखीको गन्तव्य स्थल रहनेमा उहाँको विश्वास छ । 

धादिङसँग सिमाना जोडिएकाले जिपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तिनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको उहाँले बताउनुभयो । वैकुण्ठमा जिपलाइनसँगै विभिन्न पर्यटकीय पार्कसमेत निर्माण भइसकेका छन् । उक्त स्थानमा जिपलाइनका लागि फोरजी कम्पनीले आर्थिक वर्ष २०७९/८० मा एक करोड ९० लाख ९७ हजार रुपियाँ लाग्ने सर्वेक्षण गाउँपालिकामा प्रतिवेदन बुझाएको गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्टले बताउनुभयो । पालिकाले बहुवर्षीय योजना बनाई दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको उहाँले बताउनुभयो । 

२०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्या निर्माण सेवासँग ८८ लाख ५६ हजार ७६१ रुपियाँमा २०८१ फागुन मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको प्रमुख भट्टले बताउनुभयो । जिपलाइनको अघिल्लो आर्थिक वर्षमा ४८ प्रतिशत काम सम्पन्न भएको थियो भने बाँकी सम्झौता अनुरूप काम सम्पन्न गरी जिपलाइन सञ्चालनको अन्तिम तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।