गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १९ गते । काठमाडौँ महानगरपालिकाले १८० जना ट्राफिक प्रहरी तयार गर्दै छ । त्यसका लागि महानगरले आइतबारदेखि राष्ट्रिय सभा गृहमा तालिम सुरु गरेको छ ।
तालिमको शुभारम्भ गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सहरी व्यवस्थापनको समेत अधिकार भएकाले नगर प्रहरी बलबाट गरिने ट्राफिक व्यवस्थापनका काम प्रभावकारी हुने अपेक्षा राख्नुभयो । नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगरप्रहरीको व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापनको काम कानुन कार्यान्वयन मात्र होइन । नागरिकका आवश्यकताको पूर्ति गर्दै प्रदान गर्नुपर्ने सेवा हो । यस कारण कानुन कार्यान्वयनको दायित्व पाएको ट्राफिक प्रहरीभन्दा सहरी व्यवस्थापनको दायित्व पाएको नगर प्रहरीबाट ट्राफिक व्यवस्थापनको काम प्रभावकारी रूपमा सम्पादन हुन सक्छ ।”
महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले सहरी आवागमन व्यवस्थापनलाई सहज बनाउन महानगरपालिकाको दायित्व प्रभावकारी कार्यान्वयन हुने प्रणाली स्थापना गर्न लागिएको बताउनुभयो । सहरी व्यवस्थापनका लागि खटिने नगरप्रहरीलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न सक्ने बनाउने क्षमता विकासका चरणमा ट्राफिक व्यवस्थापनका तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।