• १९ फागुन २०८१, सोमबार

ट्राफिक व्यवस्थापन गर्न १८० नगर प्रहरीलाई तालिम

blog

काठमाडौँ, फागुन १८ गते। काठमाडौँ महानगरपालिका, नगर प्रहरी बलले, नगर प्रहरी हवलदार र नगर प्रहरी जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको छ। आजदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको तालिमलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहमा ६० जना नगर प्रहरी हुनेछन्। 

तालिमका आन्तरिक कक्षा सैद्धान्तिक र वाह्य कक्षा प्रयोगात्मक हुनेछन्। सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शब्दावली, सङ्केत तथा चिह्न र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नवीनतम प्रविधिको प्रयोग, कूटनीतिक सुविधा प्राप्त सवारी साधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिने छ। यसरी सैद्धान्तिक रूपमा सिकेका कुरालाई वाह्य कक्षामा प्रयोग गरिनेछ।  

राष्ट्रिय सभा गृहमा कार्यक्रम शुभारम्भ गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले, सहरी व्यवस्थापनको समेत अधिकार भएकोले नगर प्रहरी बलबाट गरिने ट्राफिक व्यवस्थापनका काम प्रभावकारी हुने अपेक्षा राख्नुभयो। 

महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, मानव स्रोतबाट चलेको ट्राफिक व्यवस्थापन प्रणालीलाई चलायमान बनाउन ट्राफिक प्रहरीलाई सहयोग गर्नुपर्ने आवश्यकता पूरा गर्दै सहरी आवागमन व्यवस्थापनलाई सहज बनाउन महानगरपालिकाको दायित्व प्रभावकारी कार्यान्वयन हुने प्रणाली स्थापना गर्न लागिएको बताउनुभयो। 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न सक्ने बनाउने क्षमता विकासका चरणमा ट्राफिक व्यवस्थापनका तालिम दिइएको बताउनुभयो। 

नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार काठमाडौँ महानगर प्रहरी बलका ८३ जना नगर प्रहरी जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ।