• १९ फागुन २०८१, सोमबार

विश्वविद्यालयमा विद्यार्थीको खडेरी

blog

नेपालमा सञ्चालित ११ वटा विश्वविद्यालयका देशभरमा कुल एक हजार ४४० क्याम्पस छन् । यी क्याम्पसमध्येका २१८ वटा क्याम्पसले सय जनाभन्दा कम विद्यार्थी भर्ना गरी पढाइरहेका छन् । गुणस्तरीय शिक्षाको खोजीमा विद्यार्थी विदेश पलायन हुने क्रम बढेकाले यस्तो परिस्थिति आएको बताइने गरिए पनि अरूको अनुकरण गर्दै विदेशलाई नै प्राथमिकतामा राख्ने प्रचलन बढ्नु प्रमुख कारण हो । नेपालका विश्वविद्यालयको गुणस्तरको प्रश्न एउटा होला तर छोराछोरी विदेश पठाएकोमा गर्व गर्ने अभिभावकको सङ्ख्या बढ्नु अर्को कारण हो । यस्ता थुप्रै कारणले विश्वविद्यालयमा समस्या निम्तिँदै गएको छ तर समस्या समाधानको मुख्य कडी पत्ता लगाउन र हल गर्न सम्बन्धित निकायको चासो पर्याप्त हुन सकेको छैन ।

नेपालमा हाल सर्वाधिक चर्चामा रहेका विषयमध्येमा विश्वविद्यालयमा विद्यार्थीको कमी हुँदै गएको सन्दर्भ एक हो । मानविकी अन्तर्गतका इतिहास, भूगोल, राजनीतिशास्त्र जस्ता विषयमा विद्यार्थी शून्यप्रायः हुँदै गयो भन्ने त धेरै अघिदेखि समाचारका विषय बन्दै आएका हुन् तर पछिल्ला समयमा प्राविधिक धारका विषयमा समेत विश्वविद्यालयले तोकेबमोजिमका विद्यार्थी पाउन छाडेका छन् । अध्ययनबिना हचुवाका भरमा राजनीतिक स्वार्थ पूरा गर्न खोलिएका विश्वविद्यालयले मात्रै नभई राज्यकै मूलधारलाई समातेको त्रिभुवन विश्वविद्यालयका कतिपय क्याम्पस विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् ।

पैसा तिरेर पढ्नुपर्ने र कोटा नपुगेर पढ्न नपाउने सन्दर्भसमेत अहिले फेरिएको छ । विगतका समयमा चिकित्साशास्त्र, इञ्जिनियरिङ, फरेस्ट्री, कृषि, पशुविज्ञान जस्ता विषयमा विद्यार्थीले पढ्ने अवसर पाउनुलाई ठुलै भाग्य मानिन्थ्यो । बिएस्सी अध्ययन गर्दै दोस्रो वर्षमा पुगिसकेकाहरूले समेत ती विषयका प्रवेश परीक्षा दिइरहेका हुन्थे । अवसर प्राप्त भएमा यतातिरको दुई वर्षको पढाइ र समयलाई तिलाञ्जलि दिएर प्राविधिक धारका विषय पढ्न जाने गर्दथे तर अहिले यो अवस्थामा व्यापक परिवर्तन हुन पुगेको छ । विश्वविद्यालयका प्राविधिक धारका विषय पढाउने क्याम्पसले समेत आवश्यक विद्यार्थी पाउन छाडेका छन् ।

यतिसम्म हुनपुगेको छ कि शिक्षा मन्त्रालयले स्वदेश तथा विदेशबाट प्राप्त छात्रवृत्ति कोटामा पढ्न चाहने विद्यार्थीको माग गर्दा मागे जति सङ्ख्यामा आवेदन पर्न छाडेका छन् । गत साता मात्रै त्यस्ता कोटा खाली रहेकाले इच्छुक विद्यार्थीले आवेदन प्रस्तुत गर्न प्रधानमन्त्रीले नै आह्वान गर्नु परेको छ । सम्बन्धित निकायले गरेको सूचनामा केही सिट रिक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आवेदन दिन विद्यार्थीलाई आह्वान गर्नुभएको छ । मेडिकल साइन्स, इञ्जिनियरिङ, कृषि, भेटेरिनरी जस्ता विषयका अण्डर ग्राजुएटदेखि पिएचडीसम्मका कोटा त्यसै खेर जाने अवस्थामा पुगेका छन् । यो साह्रै चिन्ताको विषय हो ।

कुनै बेला तिनै विषय पढ्न र छात्रवृत्ति पाउन मन्त्री, प्रधानमन्त्री, नेता र कर्मचारी प्रशासनका ठुलाठुला व्यक्तिका घरदैलामा भिड लाग्ने गर्दथ्यो भने अहिले प्रधानमन्त्रीले नै खोजीखोजी बोलाउनु पर्ने अवस्था सिर्जना भएको छ । आइएस्सी वा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका अभिभावकको ध्याउन्न आफ्ना छोराछोरीलाई कसरी छात्रवृत्तिको कोटा दिलाउने भन्ने हुन्थ्यो र यसका लागि पैसाको चलखेल भएका चर्चासमेत आउँथे । फलानाको छोरा वा छोरी छात्रवृत्ति पाएर विदेश गएको छभन्दा समाजमा उसको इज्जत नै बेग्लै हुने गर्दथ्यो । आज त्यही कोटीका सिटमा आवेदन दिने विद्यार्थी नेपालमा नहुनु भनेको सामान्य चिन्ता गरेर पुग्ने विषय निश्चय नै होइन ।

नेपालमा अहिले विद्यार्थी हुँदै नभएका पनि होइनन् । मुलुकका ११ वटा विश्वविद्यालयमा पाँच लाख ७६ हजार २८१ विद्यार्थी पढ्दै छन् । चिकित्सा विज्ञानको उच्चतहको अध्ययन अध्यापन हुने पाँच वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २,७६२ विद्यार्थी छन् । प्रादेशिक रूपमा खुलेका विश्वविद्यालयमा पनि जम्मा ४२५ विद्यार्थी भर्ना भएका छन् । यसरी हेर्दा कुल ५ लाख ७९ हजार ४६८ जना विद्यार्थी नेपालका विभिन्न विश्वविद्यालयमा भर्ना भएका छन् । विद्यार्थी सङ्ख्या यति हुँदाहुँदै पनि सबै क्याम्पसमा विद्यार्थीको समानुपातिक वितरण नहुनु र कतिपय क्याम्पस बन्द गर्नुपर्ने अवस्थामा पुग्नुले शिक्षा क्षेत्रमा संलग्न हुनेहरूलाई चुनौती थपेको छ ।

विगतमा भर्ना हुन मारामार हुने क्याम्पसले विद्यार्थी पाउन छाडेका छन् । विद्यार्थीको सर्वाधिक रोजाइको भनेर खोलिएका विषयमा विद्यार्थीको आकर्षण घटेको छ । विद्यार्थी धेरै हुँदा भर्ती गरेका प्राध्यापकले विद्यार्थी अभावमा काम पाएका छैनन् भने काम नभए पनि स्थायी भइसकेका प्राध्यापकको बोझ विश्वविद्यालयले धान्न परिरहेको छ । बिहानी, दिवा र रात्रि सिफ्ट सञ्चालन गरेका क्याम्पस एक सिफ्टमा मात्रै चल्न थालेका छन् । चिकित्सक र इञ्जिनियरहरूको अभाव अझै नेपालमा छ । यी विषयको पढाइ हुने क्याम्पसमा सिट पनि भरिन छाडेका छन् । सय जनाभन्दा कम विद्यार्थी अध्ययन गर्ने क्याम्पसकै सङ्ख्या पाँच सय नाघिसकेको छ ।

उच्च माध्यमिक विद्यालयको व्यवस्था गरिएपछि विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह हटाइयो । विश्वविद्यालयमा विद्यार्थी घट्नुको एक प्रमुख कारण यो पनि हो तर मुलुकका लागि अति आवश्यक विषयमा पढ्ने विद्यार्थीसमेत नपाइनुको कारण भने त्यो होइन । साथै विदेशका विश्वविद्यालयले दिएका छात्रवृत्तिमा पढ्न जाने योग्य विद्यार्थीको अभाव हुनु पनि उच्च माध्यमिक विद्यालयका कारणले होइन । यस्ता समस्याको जड पत्ता लगाई राज्यले समाधान गर्न सकेन भने मुलुकको आगामी दिन त्यति सहज हुने देखिन्न ।

नेपालमा विश्वविद्यालय पढ्ने उमेरका युवाको जनसङ्ख्या घटेको पनि होइन । विगतका वर्षका तुलनामा नेपालमा युवाको सङ्ख्या बढ्दै गएको छ । विसं २०७८ को जनसङ्ख्या हेर्ने हो भने पनि १५ देखि २९ वर्षसम्मका युवा नेपालमा ८२ लाख ८ हजार ८१३ को सङ्ख्यामा रहेका छन् । यो उमेर समूह भनेको उच्च माध्यमिक तह र विश्वविद्यालय तहमा पढ्ने विद्यार्थीको उमेर समूह हो । अझ विश्वविद्यालयमा अध्ययन गर्न त उमेरले कुनै छेकबार गर्दैन र पनि विद्यार्थीको अभावमा विश्वविद्यालय किन तड्पिन परेको छ भन्ने नै अहम् सवाल हो ।

राज्यले क्याम्पस खाली हुँदै जानुमा समय समयमा प्रश्न उठाउने गर्छ । विश्वविद्यालय अनुदान आयोगले समेत विश्वविद्यालयलाई कम विद्यार्थी सङ्ख्या भएका क्याम्पसका बारेमा झक्झकाइ रहन्छ । नेपालका विश्वविद्यालयमा विद्यार्थी घटेका सन्दर्भमा शिक्षाविद्का बिचमा बेलाबेलामा चर्चा परिचर्चा पनि हुने गर्छन् । विद्यार्थी पढ्न नआएका विषयको व्यवस्थापनका लागि विश्वविद्यालयले समिति गठन गरेर अध्ययन पनि गराउँछन् र पनि समस्याले उचित निकास पाउन सकेको छैन । रोजगारमूलक शिक्षा प्रदान गरेमा मात्रै विद्यार्थी आकर्षित हुन्छन् भन्ने गरिएको छ तर रोजगारमूलक प्राविधिक विषयमै विद्यार्थीको अभाव हुन थालेको छ ।

त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय मात्रै हुँदा जस्तो मुलुकभरका सबै विद्यार्थी एउटै विश्वविद्यालयमा थुप्रिने अवस्था रहेन । भए गरेकै विद्यार्थी विश्वविद्यालयमा बाँडिने नै भए । विदेशबाट नेपालका विश्वविद्यालयको गुणस्तर देखेर विद्यार्थी आकर्षित हुने अवस्था सिर्जना गर्न पनि नेपालका विश्वविद्यालयले सकेका छैनन् । नेपालको विकास र आकर्षक भौतिक पूर्वाधार देखेर विदेशी आउने अवस्था पनि छैन । नेपालमा सुन्दर र विशाल हिमाल छन् र यहाँको जलवायु विश्वकै तुलनामा उपयुक्त छ, भन्दैमा विश्वविद्यालयमा विद्यार्थी बढ्ने पनि होइन ।

शिक्षा मन्त्रालयले ठुला ठुला बैठक आयोजन गरेर मात्रै शिक्षा क्षेत्रमा विशेष गरी विश्वविद्यालयमा देखिएका समस्याको समाधान खोज्न सम्भव छैन । मुलुकका नाम कमाएका शिक्षाविद्को साताव्यापी भेला पाँचतारे होटलमा सञ्चालन गरेर पनि यसको समाधान निस्कन सक्दैन । चुरो कुरो पत्ता लगाउन समस्याका जगमै पुग्नु पर्छ । त्यो जग भनेको नेपाल छाडेर विदेशी विश्वविद्यालय जान लालायित युवा हुन् र उनीहरूसँगको अन्तर्क्रियाबाट मात्रै विश्वविद्यालयको ह्रासोन्मुख स्थितिको औषधी पत्ता लगाउन सकिन्छ ।

विश्वविद्यालयबाट विद्यार्थी पलायन हुनुमा सबैले प्रथम दोष प्राध्यापकलाई दिने गर्छन् । यो सबैका लागि सरल छ र विश्वविद्यालयको गुणस्तर अभिवृद्धिमा प्राध्यापककै मुख्य भूमिका हुने भएकाले हो । राजनीतिमा लागेका प्राध्यापक अग्रपङ्क्तिमा रहनु र नपढाउने प्राध्यापककै हालीमुहाली देखिने हुनाले सबैलाई उचित निकास भनेकै प्राध्यापकमा सुधार आउनु हो । यो आंशिक सत्य भए पनि राज्यले खोज्नुपर्ने तथ्य भने अरू बेग्लै छन् । मूल कुरा राजनीतिक दलको विश्वविद्यालयप्रतिको दृष्टिकोणमा नै परिवर्तन आउनुपर्ने हो ।

नेपालको राजनीतिक अस्थिरता, नेताहरूको जनताप्रतिको उदासीनता, बढ्दो भ्रष्टाचार र घट्दो सुशासन आदिले नेपालमा बस्न चाहने युवाको कमी हुँदै गएको छ । कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै रोजीरोटीका लागि खाडी मुलुकतर्फ जाने र नेपालका विश्वविद्यालयलाई रोजाइमा नराखेर अमेरिकी तथा युरोपियन मुलुकतिरका विश्वविद्यालय रोज्नेको सङ्ख्या बढ्दै गएपछि नेपालका विश्वविद्यालयले विद्यार्थी पाउन कठिन पर्नु स्वाभाविक नै हो ।

राजनीतिक दलले आफ्नो नर्सरी विश्वविद्यालयलाई ठान्नु र विद्यार्थीलाई नर्सरीका बिरुवा सम्झनु विश्वविद्यालयको मूल समस्या हो । वडा अध्यक्षको टिकट पाउने जग बसाल्न विद्यार्थी विश्वविद्यालयमा तालाबन्दी गर्छन् र त्यही सक्रियतालाई दलले मूल्याङ्कनको आधार मान्छन् । नेपालका विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थी एवं विद्यालयका शिक्षकलाई राजनीतिक दलले उचाल्ने र पछार्ने कार्य बन्द गर्ने हो भने पनि विश्वविद्यालयका पचास प्रतिशत समस्या आफैँ समाधान हुन्छन् ।

सत्तासीनले पढाउने प्राध्यापक र शिक्षकलाई आफ्नो निकटको ठान्ने, ठगलाई अर्कै कित्ताको देख्ने बानी पार्ने हो भने नेपालको शिक्षा सुधार गर्न त्यति कठिन पनि छैन । परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्न सक्ने विद्यार्थीलाई राजनीतिक दलले सदस्यता दिने र हडताल, तोडफोड र तालाबन्दीमा उत्रिनेलाई टाढै राख्ने दिन आए भने नेपालका विश्वविद्यालय अझै आकर्षणका केन्द्र बन्न सहजै सक्छन् ।