• १९ फागुन २०८१, सोमबार

स्वस्थ हाँसोका शारीरिक फाइदा

blog

चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा घटेर जान्छ भने शिक्षकको मुस्कानले विद्यार्थीको बुझाइ दोब्बर भएर जान्छ । आमाबाबुको मुस्कानले केटाकेटीमा प्रेमाभाव र सहजता विकास हुन्छ भने हाकिमको मुस्कानले कर्मचारीको कार्यशक्ति र मनोबल बढेर जान्छ । प्रेमीप्रेमिकाको मुस्कानले अर्काको गल्ती, कमजोरी, इच्छा तथा जिद्दीलाई घोलिदिन्छ, पगालिदिन्छ र अगाध प्रेममा नाफा गाँसिदिन्छ । 

विश्वमा ७० प्रतिशत मानिसको अनुहार गम्भीर हुन्छ । मुस्काउँदा अनुहारका जम्मा १३ वटा मात्र मांसपेशी प्रयोग हुन्छन् भने मुख अँध्यारो पारी झोक्रिँदा ६४ वटा  मांसपेशी उपयोग हुन्छन् हाँस्दाभन्दा रिसाउँदा वा चिन्तित हुँदा ज्यादा जोड पर्छ । धेरै  मांसपेशी प्रयोग हुन्छन् धेरै ऊर्जा शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले अरू धेरै नोक्सान पु¥याउँछ । हसिलो व्यक्तिलाई गम्भीर रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

मुस्कान र हाँसो सर्वमान्य भाषा हुन् जुन सबै भाषीले, सबै उमेरका मान्छेले तथा केही जनावरले समेत बुझ्न सक्छन् । मानसिक तनाव, रिस, घमन्ड, भोक, पिर तथा चिन्तालाई कम गर्ने तथा नकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । त्यही मुस्कानले सफलता दिन्छ, साथी दिन्छ, सुख दिन्छ, अनि मुस्कानै मुस्कान दिने भएकोले मुस्कान दान गर्नु उच्चतम दान पनि हो । 

सामान्य दुखाइमा मुस्कुराए दुखाइ आफैँ निको हुने तथ्य करिब चार वर्र्षसम्म ६६०० व्यक्तिमा बेलायतमा गरिएको अध्ययनले पनि देखाएको छ । प्रसन्न नरहँदा दुखाइको अनुभूति बढी हुने र औषधीको नै जरुरत परेको उक्त खोजमा पत्ता लागेको छ । त्यस्तै अस्पतालमा आउनेहरूसँग भएका कुराकानीमा पनि धेरै प्रसन्न रहने व्यक्तिलाई कम र कम प्रसन्न नरहने व्यक्तिलाई बढी मात्रामा औषधी दिन परेको तथ्य छ । दिल खोलेर हाँस्दा रक्तप्रवाह बढाउँछ । हाँसो केहीमा आधुनिक उपचारभन्दा बढी प्रभावकारी भएको पनि पत्ता लागेको छ ।

लिड्स विश्वविद्यालयका खोजकर्ताले छ महिनासम्म निको नभएका खुट्टाको घाउ वा अल्सर भएका ३३७ रोगीमा लगातार पाँच वर्ष गरेको अध्ययनमा खित्का छाडेर वा खुलेर हाँस्दा डायफ्रामको काम गर्ने गति बढी रगतलाई सम्पूर्ण शरीरमा पु¥याइ घाउ चाँडै निको बनाएको थियो, जब अल्ट्रासाउन्ड उपचारले अलिकति मात्र सहयोग गरेको थियो ।

 मुटु तथा क्यान्सर रोगमा

 अमेरिकाको बाल्टिमोरमा रहेको मेरिल्यान्ड विश्वविद्यालयले १५० मुटुरोगी र १५० स्वस्थ मुटु भएकामा गरिएको खोजमा कम हाँस्ने, हास्यव्यङ्ग्य कार्यक्रम कम हेर्ने र हेरेमा पनि कम हाँस्ने, छिटो रिसाउनेमा मुटुरोग पाइएको थियो । अमेरिकामा क्यान्सर बिरामीमा हासो औषधीका रूपमा प्रयोग भइरहेको छ । स्वस्थ शिशु हाँस्छ, हाँस्ने शिशु स्वस्थ हुने, छिटो बढ्ने, सानातिना रोगले नसमाउने र लागेमा छिट्टै निको हुने गर्छ । हाँसोले जीवनलाई स्वस्थ राख्ने मात्र होइन कि काममा पनि मद्दत गर्छ । 

दाँत र मुस्कान

दाँत र मुस्कानको सम्बन्ध नजिकै रहन्छ । विश्वका दुई तिहाइ मानिसमा पाइने कमिजर मुस्कान,. विश्वका ३० प्रतिशत मानिसमा पाइने कस्पिड मुस्कान र करिब दुई प्रतिशतमा पाइने कम्प्लेक्स मुस्कान मुस्कानका प्रकार हुन् । जसरी मानिसले मुस्कान प्रस्फुटन गर्दा चार अवस्था पार गर्छ, त्यसै गरी मुस्कानको बारेमा निर्णय गर्दा तथा मुस्कानलाई परिमार्जन र सुधार गर्दा पनि सबै अवस्थामा अध्ययन र निर्माण गरिने गर्छ । हाँसोको मिठास वा मुस्कानलाई असर पार्ने दाँतसम्बन्धी मुख्य समस्यामा नमिलेका, भाँचिएका, छिद्र परेका, जग नमिलेका र झरेका दाँत पर्छन् । समयक्रमसँगै स्वर्ण मुस्कानको फेसनमा पनि परिवर्तन आएको छ, भित्रिएको छ, हिरक मुस्कान । 

अनेकन फाइदा

दिल खोलेर हाँस्दा शरीर हलुको भएको जस्तो अनुभव हुन्छ र मानिस तनावबाट मुक्त हुन्छ । हाँसो पनि मानिसको आरोग्य र उपचारको एउटा विधि भएको कुरालाई विचार गरेर पूर्वीय दर्शनमा आधारित योग्याभ्समा यसलाई पनि एउटा महत्वपूर्ण योग विधिको रूपमा परापूर्वकालदेखि नै स्वीकार्दै आएको पाइन्छ । हाँसो मानसिक स्वास्थ्यका लागि निकै महìवपूर्ण पक्ष भएको पूर्वीय दर्शनमा स्वीकारिएको भए पनि यस विषयमा वैज्ञानिक खोज भने भएको थिएन । अहिले विभिन्न मुलुकमा भएका खोजले हाँस्नु स्वास्थ्यका लागि निकै लाभदायक भएको र हाँसोबाट पनि कतिपय रोग निको पार्न सकिने तथ्य पत्ता लागेका छन् । कम लागतमा धेरै रोग निको पार्ने औषधी बनेको छ । एक मिनेटको हाँसोले ४५ मिनेट आराम गरे बराबरका ऊर्जा दिन्छ ।

 हाँस्दा छाला, मांसपेशी, नसा, रक्तनली आदिमा प्रशस्त रक्तसञ्चार हुन्छ । अक्सिजन पूर्ति भई शरीरमा स्फूर्ति बढ्छ । अनुहार चम्किलो हुन्छ । मानसिक तनावमा कमी, कोलेस्ट्रोलमा सन्तुलन ल्याई हृदयघातको प्रतिशतमा कमी ल्याउँछ । एन्जाइटी न्युरोसिस, साइकोसिस, सुस्त मनस्थिति, डिप्रेसन, मधुमेह, उच्च रक्तचापबाट पीडितलाई पनि उपयोगी हुन्छ । श्वासप्रश्वास गतिशील बनाई फोक्सो, घाँटीका मांसपेसीमा समेत रक्तसञ्चार बढी अनुहार रातो र चम्किलो हुन्छ । शारीरिक व्यायाम जत्तिकै लाभ हुन्छ ।

हाँसो साइड इफेक्टरहित उपचार पद्धति पनि हो । अनुसन्धानमा एउटा मधुमेहीलाई पट्यारलाग्दो भाषण सुनाउँदा र प्रख्यात हास्य कलाकारको प्रदर्शन देखाएर रगतमा चिनीको मात्रा नाप्दा हाँस्य कार्यक्रमपश्चात्को परीक्षणमा धेरै कम चिनीको मात्रा पाइएको छ । वृद्धमा देखा पर्ने रोगको उपचार तथा रोग लाग्नबाट बचाउन हाँसो उपचार पद्धति निकै उपयोगी भएको छ जापानमा । हाँस्नु पनि एउटा योग हो । योगाभ्यास वा आनन्द दिने खालका अभ्यासबाट दमका रोगीलाई धेरै फाइदा पुगेको पाइन्छ । 

तनाव घटाउने, रक्तचाप घटाउने, सकारात्मक सोचाइ, आत्मरक्षा, मस्तिष्कको कार्यशक्तिमा सुधार ल्याउँछ । इम्युनिटी बढाउने, हृदयलाई बचावट गर्ने, मुटुमा सुप्रभाव पार्ने, आराम तथा शान्त महसुस दिन्छ । आफूलाई राम्रो, सफल तथा सहयोगी महसुस हुने र व्यक्तिगत एवं सामाजिक सम्बन्ध तथा भावनामा सकारात्मक प्रभाव पार्छ । बिना मूल्यमा, निर्धक्क साथ हाँस्दा विशेष आर्थिक बोझ नहुने तथा शारीरिक र मानसिक अवस्थालाई लाभ मात्र हुने भएकाले तपाईं हामी सबैले किन अवलम्बन नगर्ने ?

धेरै जसो व्यक्ति त्यति नै खुसी रहन्छन् जति उनीहरू खुसी रहने निर्णय गर्छन् । धेरै मानिस पैसाको कमी, शारीरिक कमी कमजोरी, आपसी सम्बन्धको समस्याका कारण मुस्कुराउँदैनन् । जो मुस्काउँछ, अझ अप्ठेरो अवस्थामा पनि नरिसाई मुस्काउँछ, ऊ सधैँ बलियो हुन्छ । जो ठुस्स परेर बस्छ, ऊ सधैँ रोगी हुन्छ ।