अनिल पराजुली
हेटौँडा, फागुन १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सकार तयार रहेको बताउनुभएको छ । नारायणी यातायात व्यावसायी सङ्घको ३६औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशन उद्घाटन समारोहलाई शनिबार हेटौँडामा सम्बोधन गर्दै उहाँले यातायातसम्बन्धी नियम कानुन संशोधन गरी समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।
राज्यले गर्नुपर्ने धेरै काम यातायात व्यावसायी आफैँले गरिरहेको बताउँदै उहाँले रोड परमिट, सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउन छलफल अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । विदेशमा भएको सिस्टम प्रदेशमा पनि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै दुर्घटना तथा बिमासम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो ।
साधारणसभामा बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बागमती प्रदेशको ३० प्रतिशत राजस्वमा यातायात क्षेत्रले योगदान गरिरहेको बताउनुभएको छ । उहाँले २२ लाख सवारी चालक अनुमति पत्र नागरिक एपमा राखिएको जानकारी दिनुभयो । अनलाइनबाटै राजस्व तिर्ने, नवीकरण गर्ने र नामसारी गर्ने व्यवस्था मिलाउने तयारीमा प्रदेश सरकार लागिरहेको उहाँले बताउनुभयो ।
साधारणसभामा संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतले यातायात सम्बन्धी समस्या समाधान गर्न आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले सेवामूलक संस्था भएर पनि सङ्घले नेपाल सरकारलाई कर तिर्दै आइरहेको बताउनुभयो । अहिले पनि ठुलो रकम नेपाल सरकारलाई कर तिनुपर्ने र आर्थिक अभाव रहेका कारण भरतपुरको रामनगरमा रहेको जग्गा बिक्री गरेर कर चुक्ता गर्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । हेटौँडामा मुख्य कार्यालय रहेको नारायणी यातायात व्यावसायी सङ्घले चितवनको रामनगरमा रहेको जग्गा बिक्री गरी कर तिर्ने तयारी गरिरहेको छ ।
करिब २ करोड रुपियाँ कर तिर्नुपर्ने भएपछि सङ्घको भौतिक सम्पत्ति बिक्री गरेर मात्रै कर चुक्ता गर्न सकिने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । २०७५ फागुन १९ गतेको राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ अनुरूप नारायणी यातायात व्यावसायी सङ्घको रूपान्तरित कम्पनीको रूपमा स्थापना भएको पुरानो नारायणी यातायात कम्पनी प्रालि दर्ता गरेर सङ्घका नेतृत्वले व्यावसयीका दुर्घटना, बिमा दायित्वलगायत विषयमा काम गर्न थालेको थियो । ढुवानी तथा तौलपुल बन्द गर्न सरकारी संयन्त्र नै अग्रसर भएको थियो ।
सङ्घले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमलाई हरेक साधारणसभामा सहयोग गर्दै आएकोमा यो वर्ष नगद ५१ हजार रुपियाँ सहयोग गरेको छ । त्यस्तै लामो समयदेखि दुर्घटना नगराउने पाँच जना चालकलाई जनही नगद १० हजार रुपियाँ सहित सम्मान गरिएको छ । चालक हेटौँडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौँका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार रायलाई सम्मान गरिएको हो ।
साधारणसभामा नेपाल मेडिसिटी अस्पताल काठमाडौँका विशेषज्ञ डाक्टरको टिमले व्यावसायीको स्वास्थ्य परीक्षण गरेको थियो । कार्यक्रम सङ्घका महासचिव सरोज खनालले सञ्चालन गर्नुभएको थियो ।