• १७ फागुन २०८१, शनिबार

पाताल गुफाभित्र चार घण्टा

blog

‘पाताल भुमेश्वर गुफा अध्ययन गर्न फ्रान्सबाट टोली आएको छ ।’ मोहन विष्टले फोनबाटै २०७० चैत १२ गते यो सूचना दिनुभयो ।

बैतडी जिल्ला सदरमुकाम (गोठालापानी) बाट १८ किलोमिटर पूर्वतर्फ सतबाँझ–सिउडेबाट २० मिनेट उकालो हिँड्दा पाताल भुमेश्वर पुग्न सकिन्छ । सिद्धनाथ सामुदायिक वन क्षेत्रमा अनुमानित ८५ मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको तलाउ छ । छेउमा शिवमन्दिर र त्यहीमुनि गुफा रहेको छ । बैतडीको धार्मिक तथा पौराणिक र पर्यटकीय महìव बोकेको ठाउँ हो, पाताल भुमेश्वर । गुफाको भौगर्भिक विषयमा यकिन जानकारी कसैसँग थिएन तर यसबारे लोकोक्तिहरू चल्तीमा थिए ।

स्व. जयबहादुर चन्द र कर्णबहादुर विष्टले पौराणिककालमा राक्षस र देउताबिच युद्ध हुँदा राक्षसबाट पराजित देवगण पातालतर्फ जान गुफाको प्रयोग गरेको बताउने गरेको स्थानीय बताउँछन् । पाताल जाने गुफा भएकाले यसको नाम पाताल भुमेश्वर गुफा रहेको स्थानीयको दाबीमसेत छ । शिवजीले पाताल जाने देवताका लागि पानी पिउन आफ्नो अस्त्र प्रयोग गरी तलाउ निर्माण गरेको किंवदन्ती पनि सुनिन्छ । चन्द र विष्टले यो गुफा दुई किलोमिटर लामो भएको र अन्तिम विन्दुसम्म कोही पुग्न नसकेको बताउने गरेको स्थानीयमा सम्झना छ ।  यो गुफाभित्र छिर्न सकिएमा सात÷आठ किलोमिटर टाढाको सुर्नया नदीमा पुगिन्छ भन्ने स्थानीय विश्वास गर्छन् । महादेवले सतीदेवीको मृत शरीर बोक्दै यहाँसम्म पुगेको र सतीदेवीको पैताला खसेकाले यसको नाम पाताल भुमेश्वर रहेको किंवदन्ती पनि छ । गुफाभित्र ३३ कोटी देवगणले बैठक बस्ने गरेका जस्ता किंवदन्ती पनि छन् । 

चारैतिर बाँज, कटुस र लालीगुराँसको एकनासको जङ्गल, बिचमा तलाउ, तलाउसँगै रहेको शिवमन्दिर । मन्दिरको दक्षिणपट्टि मुनितिर पाताल भुमेश्वरको मूल गुफासहित चार वटा गुफा छन् । जिल्लाकै उच्च स्थानमा अवस्थित पाताल भुमेश्वर यहाँको महìवपूर्ण तीर्थस्थल पनि हो । यहाँ रहेको तलाउको पानी एकचोटि शिरमा चढाए पवित्र भइने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । महाशिवरात्रिमा यहाँ विशाल मेला लाग्ने गर्दछ ।

उत्तरपट्टि लहरै मिलेको अपि, नाम्पा हिमशृङ्खला आँखैअगाडि जस्तो देखिन्छ । लालीगुराँसको घनाजङ्गल फागुन, चैतमा ढकमक्क फुलेर राताम्मे भएको दृश्य मनमोहक देखिन्छ । वैशाख–जेठतिर रुखमै टिपेर ‘काफल’ खान पाइन्छ । शान्त वातावरणमा कोइली, न्याउली, कुक्कु जस्ता चराको आवाजले सहरको कोलाहलमा बस्नेलाई एकछिन आनन्द दिन्छ । जोकोही पनि यहाँ आएर सुस्ताउन र रमाउन सक्छन् । विवाह तथा व्रतबन्ध गर्नेहरू सुदूरपश्चिमका विभिन्न ठाउँबाट मात्र होइन भारतको उत्तराखण्डबाट समेत यहाँ आइपुग्छन् ।

गुफाबारे अध्ययन गर्न विज्ञ टोली नै आइसकेपछि केही नयाँ कुरा थाहा हुन सक्ने अपेक्षासहित पाताल भुमेश्वरतर्फ लागियो ।

धनगढीका होटेल व्यवसायी प्रकाश भट्टको अगुवाइमा गुफा अध्येता ६७ वर्षीय फ्रान्सेली नागरिक मोरिस डुसेन बैतडी आएका रहेछन् । ‘इन्टरनेसन सेन्टर फर दी एक्सप्लोरेसन अफ दी हिमालयाज’ को नेतृत्वमा पाँच जनाको समूह पाताल भुमेश्वर गुफा छिर्न तयारी गर्दै थिए । वृद्ध शरीर, हातमा जिपिएस, टाउकोमा हेडलाइट लगाएका डुसेन आफ्ना सहयोगीसहित गुफाको अध्ययन गर्न विभिन्न उपकरणका चाँजोपाँजो मिलाउँदै गुफाबाहिर व्यस्त देखिन्थे ।  डुसेनसँग सामान्य कुरा भयो । उनले फ्रेन्च भाषा मात्र बोल्थे । डुसेनले फ्रेन्च र अङ्ग्रेजी बुझ्ने दोभासे साथमा ल्याएका रहेछन् । ‘जिपिएसको सहायताले गुफाको लम्बाइ र गहिराइ पत्ता लगाउने र नक्सा तयार पार्ने’ तयारीसाथ डुसेनको टोली बिहान ९ बजे गुफाभित्र पस्यो । उनलाई पछ्याउँदै केही स्थानीय व्यक्ति डोरी र बत्तीलगायत सामग्रीसहित डुसेनलाई सघाउन गुफा पसे । ह्यान्डिक्याम र फ्ल्यासलाइट बोकेर उनीहरूलाई मैले पनि पछ्याएँ । 

हामी गुफाभित्र पस्यौँ । गुफा सुरुवातबाटै ओरालो सोझियो । डुसेनको टोली डोरी बाँध्दै, जिपिएस प्वाइन्ट निर्धारण गर्दै अघि बढ्यो । हामी भिडियो र फोटो खिच्दै उनको पछि लाग्यौँ । गुफाभित्रका हरेक दृश्यले हाम्रो ध्यान तान्थ्यो । कतै मूर्ति जस्ता, कतै चेप्टा, कतै लाम्चा चट्टानका आकृति हेरिरहुँ जस्ता थिए । 

एकछिन सहज रूपमा अघि बढेपछि केही मिनेटमा अप्ठेरो बाटोको सामना गर्न पुग्यौँ । ओरालो र चिप्लो चट्टानको काप्चाबाट एकोहोरो भएर अघि बढ्नुपर्ने थियो । गुफाको उचाइ धेरै थियो तर चौडाइ थोरै । १५ मिनेटमा तेर्सो बाटो आइपुग्यो । यहाँबाट अघि बढ्दा केही खुला महसुस भयो तर सोचे जस्तो सजिलो चाहिँ थिएन । बव्रmरेखा जस्तो कतै साँघुरो कतै उबडखाबड गुफा पछ्याउँदै हामी अघि बढ्यौँ । 

एकछिनमा खुला र चौडा भाग आयो । त्यहाँ ४०÷५० जना मानिस जम्मा हुन मिल्ने क्षेत्र थियो । उचाइ घरको तीन तलाभन्दा बढी जस्तो लाग्थ्यो । त्यहाँबाट केही ओरालो झरेपछि मूल गुफाबाट अन्य दुइटा गुफा दायाँ र बायाँ पनि देखिए । मूल गुफाबाट तल झर्दै अघि बढ्ने व्रmममा गुफाको सतहमा अब थोरै पानी बग्न सुरु भएको थियो । फ्रान्सेली टोली हामीभन्दा निकै पछाडि थियो ।

अचम्मलाग्दो गुफाभित्र हामी अज्ञात स्थलतर्फ जाँदै थियौँ । उद्धारकर्मी नभएको अवस्थामा हाम्रो यात्रा जोखिमपूर्ण पनि हुन सक्थ्यो । गुफाको अप्ठेरो पहरा छिचोल्दै हामी अघि बढिरह्यौँ । केही तल झरेपछि फेरि चौराहा जस्तो ठाउँ आयो । त्यहाँ पनि दुई साँघुरा गुफा मूल गुफाबाट दायाँ र बायाँ छुट्टिएका थिए । यो ठाउँमा हामीले केही मिनेट विश्राम लियौैँ । यहाँ निकै सुन्दर मूर्ति जस्ता आकृति थिए । गुफा यात्रामा रहेका केही साथीले भित्तामा आआफ्नो नाम कोरे । कसैले चित्र बनाउँदै रमाइलो गरे ।  

अगाडिको भागमा केही अघि बढ्दा अक्सिजनको अभाव महसुस हुन्छ तर यहाँ हामीलाई अक्सिजन कम भएको कुनै आभास नै भएन । बरु कतै न कतैबाट हावा आइरहे जस्तो महसुस हुन्थ्यो । 

तेर्साे बाटो अघि बढ्दै जाँदा केही पर माटो र पातपतिङ्गरको थुप्रो देखियो । यसभन्दा अगाडि निकै साँघुरो भाग भएर पानी बगेको देखिन्थ्यो । हामीले सोच्यौँ, “अब योभन्दा अघि बढ्न सकिन्न ।”  

एकछिन थकाइ मारेपछि हामी फिर्ता आउने निर्णयमा पुग्यौँ । गुफाभित्र कति तल झ¥यौँ भन्ने कुराको कुनै अनुमान थिएन । समय दुई घण्टाभन्दा बढी बितिसके छ । अब माथि उक्लिने बेलाको सङ्घर्ष झन् कठिन थियो । उसै त उकालो, झन् त्यसैमा भोक लागिसकेको थियो । माथि उक्लिन थालेको एक घण्टापछि हामीले फ्रान्सेली टोली भेट्यौँ । उनीहरूसँग कुरा गर्दै भिडियो खिच्यौँ । डुसेनको टोली आफ्नो काममा लाग्यो, हामी उकालो चढ्दै अघि बढ्यौँ । गुफाको मुखमा पुग्दा दिउँसो एक बजेको थियो । एक्कासि उज्यालोमा पुग्दा आँखा त तिरिमिरी भयो ।

पहिलो दिन डुसेनको टोलीले १४० मिटर गहिराइ र करिब साढे तीन सय मिटर लम्बाइसम्म नापजोख गरेको थियो । उनीहरू गुफाबाट पाँच घण्टापछि २ बजेतिर बाहिर निस्किए । डुसेनले गुफाभित्र कुरा गर्दा ‘पाताल भुमेश्वर नेपालका अन्य गुफाभन्दा निकै अनौठो र आकर्षक’ रहेको प्रतिव्रिmया दिएका थिए । पहिलो दिन गुफाबाट बाहिर निस्किएपछि डुसेनको टोलीले भोलिपल्ट थप अध्ययन ग¥यो । साढे आठ सय मिटरसम्म प्रारम्भिक अध्ययन गरेर चैत १३ गते उनीहरू धनगढीतर्फ लागे ।  डुसेनको टोलीले अर्को हप्ता चैत २६ गते फेरि थप अध्ययन गर्न आउने खबर पठायो । पाँच जनाको टोली भनेकै समयमा आइपुग्यो । उनीहरूले गुफा अध्ययन गर्ने थप उपकरणसहित पाँच घण्टा गुफाभित्र बिताएर फर्किए ।  

डुसेनले अध्ययन गरेको दुई वर्षअघि बेलायती गुफा विशेषज्ञ पिटर एलिसन र बङ्गलादेशका आरिफ गोइयाको टोली पाताल भुमेश्वर पुगेको थियो । उनीहरूले साढे एक किलोमिटरभित्र पसेको दाबी गरेका थिए तर पाताल भुमेश्वर गुफाबारे यकिन जानकारी भने कतैबाट आएन । आशा गरौँ, भविष्यमा थप अध्ययनबाट पाताल भुमेश्वर गुफाको थप रहस्य खुल्ने छ ।

Author

लोकेश साउद