रामेछाप समाचारदाता
रामेछाप, फागुन १७ गते । रामेछापका केही विद्यालयका विद्यार्थीले रचनात्मक सिप सिकेर पकेट खर्च जुटाउन थालेका छन् । जिल्ला सदरमुकाम मन्थलीलगायतका विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी अनेरास्ववियु रामेछापले व्यावसायिक सिपका कार्यक्रम सञ्चालन गरेको हो ।
सोही कार्यक्रममार्फत सिप सिकेका विद्यार्थीले अहिले पकेट खर्च जोहो गर्न थालेका हुन् । विभिन्न सरकारी तथा सामाजिक संस्थासँग सहकार्य गरी अनेरास्ववियुले विद्यार्थीका माग अनुसारका तालिम सञ्चालन गरेको थियो । तालिममध्ये कागजका ब्याज तथा फूल बनाउने सिप प्रभावकारी देखिएको अनेरास्ववियु मन्थली नगरपालिका कमिटी अध्यक्ष उत्सव केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “कागजका ब्याज तथा फूल बनाउने तालिम धेरै प्रभावकारी देखियो । यो सिप चाँडै सिक्ने, काम सिकेपछि उत्पादन गर्न लागत कम लाग्ने र तुरुन्तै आम्दानी हुने भएकाले तालिमप्रति विद्यार्थीको आकर्षण देखियो ।”
विद्यार्थीले उत्पादन गरेका कागजको ब्याज प्रतिगोटा ४० रुपियाँमा बिक्री भइरहेका छन् । सिप सिकेका विद्यार्थीले तयार गरेका ब्याज अनेरास्ववियुले नै विभिन्न कार्यक्रममा बिक्रीका लागि व्यवस्था मिलाइदिएको अध्यक्ष केसीले बताउनुभयो । सदरमुकाममा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसलगायतका विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलक्षित गरी व्यावसायिक सिपका कार्यक्रम सञ्चालन गरेको अनेरास्ववियु जिल्ला अध्यक्ष पुष्कर भट्टराईले बताउनुभयो ।