सन्तोष दहित
दाङ, फागुन १६ गते । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सनाले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान कार्यक्रमले लुम्बिनी प्रदेशको समग्र शैक्षिकको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।
गत हप्तादेखि सञ्चालनमा आएको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान कार्यक्रमबारे गोरखापत्रसँग विशेष कुराकानी गर्नुहुँदै मन्त्री तिमिल्सनाले यस्तो कुरामा जोड दिनुभएको हो ।
‘‘यस अभियानले सामुदायिक विद्यालयप्रति पूर्व विद्यार्थी तथा सरोकारवालाको दायित्व बोध गराई उनीहरुमा रहेको ज्ञान, सीप, दक्षता र सामथ्र्य विद्यालयको सर्वाङ्गीण विकासमा उपयोग गर्ने हो,’’ उहाँले भन्नुभयो, ‘‘उहाँहरुको माध्यमबाट विद्यालयको आर्थिक, भौतिक, शैक्षिकलगायत सर्वाङ्गीण विकासका लागि स्रोत साधन तथा सहयोग जुटाउने कार्य गरी यस अभियानले विद्यालयलाई लाभ पुर्याउने छ ।’’
‘‘सुरुवाटमा प्रदेशको १२ जिल्लाको १५ विद्यालयबाट यो अभियान सुरु भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘सरुवाती क्रममा चार हजार पाँच सय पूर्व विद्यार्थी÷सरोकारवाला र करिब १५ हजार विद्यार्थीको सहभागिता रह्यो ।’’
यस्तै यो अभियानको सुरुवातीमा १५ विद्यालयका पूर्व विद्यार्थीहरुबाट करिब ७५ लाख नगद सहयोग सङ्कलन भएको जानकारी दिनुभयो । ‘‘यो अभियान अझ प्रभावकारी भइरहेको छ ।’’, मन्त्री तिमिल्सनाले भन्नुभयो, ‘‘सामुदायिक विद्यालयका सरोकारवालाई विद्यार्थीको सिकाइ नतिजाप्रति उत्तरदायी बनाउने, विद्यालय व्यवस्थापन र विकासमा सामूहिक तथा सञ्जालीकृत उत्तरदायित्व प्रणाली विकास गर्ने हाम्रो लक्ष्य छ ।’’
यस्तै, उहाँँले विद्यालयको भौतिक, आर्थिक, संस्थागत, शैक्षणिक, सामुदायिकलगायत समग्र पक्षमा देखापररेका समस्या समाधानका लागि सरोकारवालाको सहयोग तथा सहजीकरण अभिवृद्धि गर्ने भएको बताउनुभयो ।
यसैगरी, विद्यालय विकासमा सामूहिक दक्षताको उपयोग हुने जस्ता कार्यमा सहयोग गर्ने भएकाले विद्यालयको समग्र विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा ल्याउने अभियान मार्फत सहयोग पुग्ने अपेक्ष गरिएको उहाँको भनाइ थियो ।
‘‘सामुदायिक विद्यालयको खस्कदो स्तरलाई क्रमशः सुधार गर्दै हाम्रो विद्यालय राम्रो विद्यालय बनाउने नै यो अभियानके अभियानको मुख्य हो,’’ मन्त्री तिमिल्सनाले भन्नुभयो, ‘‘यसका साथै कुनै विद्यालयमा अध्ययन गरेका भुतपूर्व विद्यार्थीहरुलाई हाल विभिन्न संस्था, निकाय र क्षेत्रका जिम्मेवार पद र हैसियतमा रहेका अल्मुनाई (पूर्व विद्यार्थी) एवम् व्यक्तिहरुलाई आफ्नो विद्यालय प्रतिको सेवाभाव जगाई सहयोगका लागि अभिप्रेरित गर्नु पनि हो ।’’
यसैगरी, सरोकारवालाहरुलाई विद्यालय शिक्षा सुधारमा आफ्नो भूमिका बोध गराइ सहयोगी भावना जागृत गर्नु तथा विद्यालय शिक्षा व्यवस्थापनका विविध आयामहरु शैक्षिक, सामाजिक, आर्थिक, भौतिक, मानवीयपक्षमा सहयोग एवम् सहजीकरण गर्नु जस्ता यस अभियानका उद्देश्य रहेको मन्त्री तिमिल्सनाको भनाइ छ ।
‘‘केही विद्यालय व्यवस्थापन समितिका एकाध पदाधिकारीको फरक बुझाइका कारण सञ्चालन नगरेको भन्ने बुझ्नमा आएको छ,’’ उहाँले भन्नुभयो, ‘‘तर समग्र विद्यालयका विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी तथा सरोकारवालाको यस अभियानप्रति अपनत्व भएको हाम्रो बुझाइ छ ।’’
‘‘हामीले सामुदायिको विद्यालयको उत्कृष्टताका लागि यसका वास्तविक सरोकारवालाका रुपमा रहेका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबीचको सहकार्य विद्यार्थीको सिकाइको नतिजा सुधारमा केन्द्रित हुनु पर्दछ भन्ने लागेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘यसका लागि सबै पक्षको बिचमा सहयोगात्मक, सहकार्यात्मक, साझेदारयुक्त सम्बन्ध रहेका आवश्यक छ, त्यसका लागि लागि परेका छौं ।’’
‘‘प्रदेश सरकारले शिक्षक र विद्यार्थीबिच सम्बन्ध सुमधुर बनाउन आवश्यक नीति, कानुन बनाउने, सरोकारवालाको क्षमता विकास गर्ने, सरोकारवालाका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं,’’ मन्त्री तिमिल्सनोले भन्नुभयो, ‘‘मेरो विद्यालय मेरो दायित्व जस्ता अभियानमूलक कार्यक्रम सबै विद्यालयमा विस्तार गर्ने मुख्य रणनीति लिएका छौं ।’’