राममणि दाहाल
हेटौँडा, फागुन १६ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित अदुवाबारीमा घरधनीको आँखामा खुर्सानीको धुलो छरी चोरी गर्ने प्रयास भएको छ ।
अदुवाबारीस्थित वर्ष ६३ का मीनबहादुर भ्लोन र निजकी श्रीमती वर्ष ६४ की देवीमाया भ्लोनले आफ्नै घरमा खाना खाइरहेको अवस्थामा गए राति पहिचान नखुलेका पुरुष व्यक्तिले घरधनी मीनबहादुर भ्लोनको आँखामा खुर्सानीको धुलो छरी चोरी गरेका हुन् ।
करिब ३५ वर्षीय अपरिचित पुरुष व्यक्ति घरधनीको प्रतिकारबाट गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
ती अपरिचित व्यक्ति खुर्सानीको धुलो छर्केर एक्कासि घरमा प्रवेश गरी गर्न लाग्दा मीनबहादुर भ्लोन र श्रीमती देवीमाया भ्लोनले भान्छामा रहेको सामानले प्रतिकार गर्दा तीन व्यक्तिको टाउको, मुख, शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका थिए ।
प्रहरी नायब उपरीक्षक अर्यालले गम्भीर घाइते भएको र उपचारमा नै रहेकोले चोरीका लागि आएका व्यक्तिको अझै पहिचान खुल्न नसकेको बताउनुभयो ।
यस्तै घरधनी मीनबहादुरको हात, मुख र टाउकोमा तथा देवी मायाको हात र आँखा नजिक चोट लागेको छ । प्रहरीका अनुसार मीनबहादुर र देवी मायाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने ती अपरिचित व्यक्तिको हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।