• ८ वैशाख २०८२, सोमबार

पहिचान जगेर्नामा चेपाङको सक्रियता

blog

मनहरी समाचारदाता

हेटौँडा, फागुन १६ गते । सीमान्तकृत चेपाङ समुदायको सांस्कृतिक पक्षको जगेर्नाका लागि चेपाङ समुदाय यतिखेर सक्रिय भएका छन् । चेपाङ जातिको उद्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकामा लोप हुँदै गएका चेपाङ परम्परा, गीतसङ्गीत तथा कला संस्कृतिको जगेर्नाका लागि स्थानीय सरकार र चेपाङ अगुवा सक्रिय भएका हुन् । 

बागमती प्रदेश सरकारका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङका अनुसार यतिबेला स्थानीय सरकारले करिब तीन करोड ४० लाख रुपियाँ लगानी गरेर राष्ट्रिय चेपाङ सङ्ग्रहालय भवन निर्माण गरिरहेको छ । ‘स्युलाइदुङ’ गीत चेपाङ समुदायका युवाबिच पाखापखेरामा मायाप्रीति लाउने र विवाहको चरणसम्म पुग्ने भाव बोकेको गीत हो । अहिले राक्सिराङ गाउँपालिकामा मात्रै नभई यो गीतमा अन्य क्षेत्रका कतिपय मञ्चमा समेत घन्किन थालेका छन् । 

राक्सिराङ गाउँपालिका–७ का कलाकार सस्मिता र डेबिट चेपाङ त्यही गीतमा नृत्य प्रस्तुत गर्न विभिन्न ठाउँमा पुग्ने गरेका छन् । स्वर्गीय गायक यमन चेपाङले गाउनुभएको र सङ्कलन गर्नुभएको लोककथामा आधारित यो गीत करिब लोप भइसकेको थियो । राक्सिराङ गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा यो गीत बज्न थालेपछि अहिले नयाँ पुस्तालाई समेत यसले परम्परागत सन्देश दिइरहेको छ । पूर्वराज्यमन्त्री सन्तबहादुरले भन्नुभयो, “हामीले सबै कुरा गुमाउँदै गएका रहेछौँ । अहिले खोजी गर्दा यस्ता रेकर्डेड गीत फेला परे ।”

राक्सिराङ गाउँपालिकाले अहिले छिमेकी स्थानीय तहलाई समेत पाठ सिकाउने गरी निश्चित भूगोललाई चेपाङ सांस्कृतिक तथा पर्यटन संरक्षित क्षेत्र घोषणा गरी कार्यान्वयनमा लगेको छ । राक्सिराङ गाउँपालिका–७ लाई संरक्षित क्षेत्र घोषणा गरी गाउँपालिकाले नियमित बजेटका अतिरिक्त छुट्टै ५० लाख रुपियाँ वार्षिक प्रदान गर्ने गरी व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “चेपाङले जीवन चलाउने क्रममा गरेका दुःख, सङ्घर्ष र स्रोतसाधनको संरक्षण गर्ने र त्यसलाई पर्यटनसँग जोड्ने हाम्रो लक्ष्य हो ।” उहाँले चेपाङको सांस्कृतिक पहिचानको पाटोलाई निकै अगाडि बढाइएको दाबी पनि गर्नुभयो । 

राक्सिराङ गाउँपालिकामा हुने औपचारिक कार्यक्रममा चेपाङले प्रयोग गर्ने गिट्ठा, वनतरुल, तरुललाई खाजाका रूपमा उपयोग गर्न थालिएको छ । राक्सिराङ गाउँपालिकामा पाहुनाका रूपमा आउनेलाई चेपाङ समुदायद्वारा उत्पादित मह, जाबी (चेपाङले बोक्ने मौलिक झोला) उपहारका रूपमा पठाउने गरिएको छ । 

नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष एवं संविधान सभा सदस्य गोविन्दराम चेपाङले राक्सिराङले झैँ अन्य पालिकाले पनि चेपाङको पहिचानका लागि काम गरिदिनुपर्ने बताउनुभयो । उहाँले चेपाङ समुदायलाई नजिकबाट बुझेको नेतृत्वबाट चेपाङ जीविकोपार्जन, सांस्कृतिक र जातीय पहिचान संरक्षणका लागि लगानी हुने गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । 

नेपालको मकवानपुर, चितवन, धादिङ, गोरखा, तनहुँ र लमजुङमा चेपाङ समुदायको बसोबास रहेको छ । जङ्गल र खोलामा आश्रित रहन चाहने प्रकृतिपूजक चेपाङ जातिको जनसङ्ख्या करिब एक लाखको हाराहारीमा रहेको नेपाल चेपाङ सङ्घका पदाधिकारीले जानकारी दिनुभयो ।