धीरेन्द्रप्रसाद साह
जनकपुर, फागुन १६ गते । महाशिवरात्रि पर्व मनाउन भारतबाट नेपाल आएका धार्मिक पर्यटक बिहीबार साँझसम्म पनि आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गरेर निधारमा चन्दन र गलामा रुद्राक्षको माला लगाएर फर्किंदै थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै काठमाडौँका बसपार्कमा भारतबाट आएका पाहुनाको लाम थियो । आफ्नो सवारीसाधन हुनेहरू पशुपतिनाथ मन्दिर दर्शन गरेर कोही पोखरातिर लागे, कोही लुम्बिनी । नेपाल आएर काठमाडौँ आसपासका पर्यटकीय क्षेत्र घुम्ने क्रम साताव्यापी चलिरहन्छ ।
पौराणिक एवं प्राचीनकालदेखि नेपाल र भारतबिच रहेको जनस्तरको सम्बन्धकै आधारमा भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेला (गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल) मा डुबुल्की लगाएर त्यहाँबाट सिधै काठमाडौँ हानिएका पर्यटकको सङ्ख्या ठुलो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भारतका दर्शनार्थीको उपस्थितिले यसको उल्लास र गरिमा अझ बढाएको बताउनुभयो ।
उहाँले महाकुम्भमा स्नान गरेर महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न आउने, नेपाली धार्मिक पर्यटक प्रयागराज जाने र महाकुम्भमा डुबुल्की लगाएर सिधै काठमाडौँ आउने भनेको दुई देशबिचको धार्मिक एवं जनस्तरको सम्बन्धले सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने आन्तरिक पर्यटक सँगसँगै भारतका पाहुनाको सङ्ख्या पनि उल्लेख्य रहेको पाएँ । यी दुई देशबिच परम्परादेखि चलिआएको सम्बन्धकै कारण सम्भव भएको हो ।”
भारतबाट दर्शन गर्न आउने उल्लेख्य
पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्वका अवसरमा बुधबार सात लाखभन्दा बढीले भगवान् शिवको पूजाआराधना गरे । शिवरात्रिको पूर्वार्ध मङ्गलबार र भोलिपल्ट बिहीबार गरी थप अढाई लाखले दर्शन गरेको अनुमान छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा मङ्गलबार र महाशिवरात्रि पर्वको भोलिपल्ट बिहीबार पनि दर्शनार्थीको उल्लेख्य भिड रहेको थियो ।
उहाँले भन्नुभयो, “सात लाखभन्दा बढी भक्तजनले महाशिवरात्रि पर्वकै दिन भगवान् पशुपतिनाथको दर्शन गर्नुभयो । मन्दिरबाहिरैबाट दर्शन गर्ने दर्शनार्थीको सङ्ख्या पनि ठुलै छ । विशेष गरी महाकुम्भमा सहभागी भएर पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजन धेरै हुनुहुन्छ ।”
डा. थापाले भारतको मुम्बईमा १० महाविद्या विष्णुसहस्रकोटी हवन महायज्ञ गरिएको र दिल्लीसहितका राज्यमा प्रचारप्रसार गरिएकाले पनि भारतबाट अघिल्ला वर्षभन्दा बढी धार्मिक पर्यटक आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भारतका साधुसन्त, महन्थ, धार्मिक अभियन्ता, राजनीतिक अभियन्तामध्ये २० प्रतिशतभन्दा बढी महाकुम्भमा सहभागी भएर काठमाडौँ आएका पर्यटक रहेको पाइयो । त्यसमा धेरै जसो साधुसन्त नै हुनुहुन्छ ।”
महाकुम्भमा १० लाख नेपाली गए
नेपालका अन्य प्रदेशबाट उल्लेखनीय सङ्ख्यामा महाकुम्भमा नेपाली सहभागी भएका छन् । महाकुम्भ मेलामा स्नान गरेमा मोक्ष प्राप्ति हुने विश्वासका साथ नेपाली सहभागी भएका हुन् ।
धार्मिक महत्वको महाकुम्भमा कति नेपाली सहभागी भए भन्ने यकिन तथ्याङ्क नभए पनि बस, जिप, कार, रिजर्भ गरेर, रेल र हवाई जहाजमा चढेर जाने सबै गर्दा करिब १० लाख नेपाली महाकुम्भ पुगेको अनुमान छ । महाकुम्भ पुगेर आउन प्रतिव्यक्ति १५ हजार रुपियाँ खर्च भएको अनुमान गरिएको छ । यस हिसाबले
महाकुम्भ मेलामा जाने नेपालीले १५ अर्ब रुपियाँ खर्च गरे । मधेश प्रदेशको मात्रै औसतमा प्रतिपरिवार दुई जना मेला भर्न गएको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेशमा ११ लाख ५६ हजार ३८३ घरपरिवार रहेका छन् । यसरी प्रतिघरपरिवार दुई जनाको दरले मेला भर्न जाँदा प्रतिपरिवारबाट ३० हजार रुपियाँ खर्च भएको देखिन्छ ।
प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. सोहन साहका अनुसार मधेशबाट २५ देखि ३० वर्षभन्दा माथिका दर्शनार्थी महाकुम्भ मेला भर्न गएको अनुमान गरिएको छ । उहाँले वास्तविक तथ्याङ्क सङ्कलन गर्ने प्रयास गरिएको बताउनुभयो । प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशका पूर्वउपाध्यक्ष तथा अर्थविज्ञ प्राडा भोगेन्द्र झाका अनुसार सुदूरपश्चिम र मधेश प्रदेशका जिल्लाबाट सबैभन्दा बढी सङ्ख्यामा महाकुम्भ गएको अनुमान छ । उहाँले भन्नुभयो, “मेलामा न्यूनतम कसैले १५ हजार, कसैले २० हजार खर्च गरेका छन् । त्योभन्दा बढी खर्च गर्ने पनि धेरै छन् ।”
महाकुम्भमा स्नान गरेर फर्किएका नेपाली अस्वस्थ भएका छन् । ७० वर्षीय सज्जनलाल साहका अनुसार अधिकांशलाई ज्वरो, रुघाखोकी, झाडापखाला र छालासम्बन्धी समस्या देखिएको छ ।