काठमाडौँ, फागुन १५ गते। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताउनुभएको छ । मन्त्री अधिकारीले सिंहदरबार चहारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदासम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
युवा किसान सञ्जालले बिहीबार काठमाडौँमा आयोजना गरेको किसान सम्मान एवम् अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफूले मन्त्रालयको नेतृत्व समालेको आठ महिनाको अवधिमा भएका कार्य र निर्णयहरू समग्र कृषि र किसानको पक्षमा भएको बताउनुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो,‘‘अझै थुप्रै कामहरू गर्न बाँकी छ जसको सकारात्मक प्रतिफल देखिँदै जाने छ, कृषि ऐन चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको छ, कृषिमार्फत हामीले चाहेको समृद्धि नयाँ ऐनमार्फत प्राप्त हुन सक्ने गरी तयार हुँदैछ । ऐन चाँडै मन्त्रीपरिषद हुँदै संसदमा पुग्दैछ । कृषिमार्फत गरिबी घटाउँदै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बोकेको छ ।’’
किसानलाई परिचय पत्र वितरणको कार्य यसै वर्षदेखि सुरु गर्देछौँ, प्रधानमन्त्रीबाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी छ उहाँले भन्नुभयो। मन्त्री अधिकारीले कृषि मन्त्रालय मार्फत विगत पाँच वर्षयता अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिएको उल्लेख गर्दे कृषि र किसानको नाममा एक खर्ब ७ अर्व रुपियाँ वितरण भएको रहेछ, यसको उपलब्धि खोज्ने काम भएको छ भन्नुभयो ।
किसानले समयमा मल र बिउ नपाउने मन्त्रालय के गरिबसेको छ भन्ने प्रश्न उठने गरेको भन्दै मन्त्री अधिकारीले ठुलो रकम रासायनिक मलमा अनुदान गएको र यसको सहज वितरणमा प्रदेश र स्थानीय तहको पनि महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।