अविनाश चौधरी
धनगढी, फागुन १५ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् जोखिम न्यूनीकरणसम्बन्धी सूचना प्रवाह सशक्त हुनु पर्ने बताउनुभएको छ ।
धनगढीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका सवलीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री सार्कीले सुदूरपश्चिममा विपद्को उच्च जोखिम रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “विपद् र विपद् जोखिम न्यूनीकरणसम्बन्धी समुदायलाई सजग गराउनेदेखि लिएर सरकारलाई घचघच्याउने कार्य पत्रकारले गर्नु पर्दछ ।”
मन्त्री सार्कीले विपद्बाट धन सम्पत्तिको क्षति रोक्न नसके पनि समयमै उपयुक्त सूचना प्रवाह गरेर मानवीय क्षति रोक्न सकिने उल्लेख गर्नुभयो । उहाँले बाढी विपद्को कारक मानिस नै रहेको बताउनुभयो । “पानी निकासको बाटो ब्लक भएको छ । त्यसले विपद्को सामना गर्नु परिरहेको छ”, सार्कीले भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनबारे बुझाउने दायित्व पत्रकारको रहेको बताउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बनेको नयाँ नीतिबारे मिडिया जगतले जनतालाई बुझाउनु पर्ने उल्लेख गर्नुभयो ।
यसैगरी, कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पत्रकारले सशक्त भूमिका निर्वाह गर्नु पर्ने औंल्याउनुभयो ।
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रलायले आयोजना गरेको सवलीकरण कार्यक्रममा कैलाली, कञ्चनपुरमा कार्यरत पत्रकारको सहभागिता रहेको छ ।