गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १५ गते । नेपाल–जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गर्नुभएको छ ।
भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकास प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठुलो सम्भावना रहेको बताउनुभयो । उहाँले नेपाल–जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरुको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्तालाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले विदेशी लगानीकर्ताका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीका लागि आकर्षक क्षेत्र रहेकाले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गर्नुभयो । उहाँले सरकारले निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीका लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिनुभयो ।
टोलीमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्यालीलगायत दर्जन बढी कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समिट आजबाट काठमाडौंमा सुरु भएको छ ।