वासिङ्टन, फागुन १५ गते । अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठुलो क्रिप्टो चोरी हो ।
“उत्तर कोरिया क्रिप्टोकरेन्सी एक्सचेन्ज, बाइबिटबाट लगभग एक अर्ब ५० करोड अमेरिकी डलर मूल्य बराबरको भर्चुअल सम्पत्ति चोरीका लागि जिम्मेवार थियो”, एफबिआईले एक सार्वजनिक सेवा घोषणामा भनेको छ ।
ब्युरोले लाजारस ग्रुप पनि भनिने ट्रेडरट्रेटर एक समूह चोरीको पछाडि रहेको बताएको छ ।
“उनीहरू द्रुत गतिमा अघि बढिरहेका छन् र चोरी गरिएको केही सम्पत्तिलाई बिटकोइन र अन्य भर्चुअल सम्पत्तिमा परिवर्तन गरिसकेका छन् जुन धेरै ब्लकचेनहरूमा हजारौँ ठेगानामा फैलिएका छन्”, ब्युरोले भनेको छ, “यी सम्पत्तिहरू थप रूपमा धुलाइ गरिने र अन्ततः फिएट मुद्रामा परिवर्तन गरिने अपेक्षा गरिएको छ ।”
उत्तर कोरियाली नेता किम जोङ उनको उपहास गर्ने फिल्म ‘द इन्टरभ्यु’ को बदलामा सोनी पिक्चर्समा ह्याकिङ गरेको आरोप लागेपछि लाजारस समूहले एक दशकअघि कुख्याति प्राप्त गरेको थियो ।
उत्तर कोरियाको साइबर–युद्ध कार्यक्रम कम्तीमा सन् १९९० को मध्यदेखि सुरु भएको हो ।
सन् २०२० को अमेरिकी सैन्य प्रतिवेदन अनुसार, त्यसबेला देखि यो छ हजार जना सदस्य भएको साइबर–युद्ध एकाइ बनेको छ जसलाई ब्युरो १२१ भनिन्छ र यो धेरै देशबाट सञ्चालन हुन्छ । रासस/एएफपी