ललितपुर, फागुन १५ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार ललितपुरमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घको २९औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताउनुभएको हो ।
विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै नेपालमै गुणस्तरीय शिक्षा लिनसक्ने अवस्था बन्नु सुखद् रहेको सिंहको भनाइ छ ।
शैक्षिक नीति सुधारमा अङ्ग्रेजी भाषा नीति र अङ्ग्रेजी भाषा शिक्षाको क्षेत्रमा योगदान गर्न पनि सङ्घलाई आग्रह गर्नुभयो । ‘‘नयाँ शैक्षिक नीतिहरूको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबी मार्फत शिक्षाको गुणस्तर वृद्धि गर्नु सामूहिक प्रयास हुनुपर्छ भन्ने मेरो मत छ । पाठ्यक्रम, सिकाइ सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग हात मिलाएर नै काम गर्नुपर्छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
सन् १९९२ मा स्थापना भएदेखि नै नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन एसोसिएसनले खेलेको भूमिका को उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रहरूमा अङ्ग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न पनि आग्रह गर्नुभयो । ललितपुरमा आजबाट सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले बताएको छ ।