• १५ फागुन २०८१, बिहिबार

गलेश्वर शिवालय मन्दिरमा चार लाखभन्दा बढी भेटी सङ्कलन

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन १५ गते । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वर शिवालय मन्दिरमा शिवरात्रीका दिन दर्शन तथा पूजा अर्चना गर्न आएका दर्शनार्थीहरुले चार लाख रुपियाँभन्दा बढी भेटी रकम चढाएका छन् ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँका अनुसार शिवरात्रीका दिन चढाएको भेटी बिहीबार बिहान गणना गर्दा चार लाख ३३ हजार सात सय ७४ रुपियाँ भएको हो। 

गलेश्वर शिवालयमा हरेक वर्ष साउनका सोमबार तथा शिवरात्री र बालाचतुर्दशीमा भक्तजनको भिड लाग्ने गर्दछ । भक्तजनले चडाएको रकम बिहीबार गणना गरेर बेनीमा रहेको गरिमा विकास बैंकमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

गलेश्वर मन्दिरमा राखिएको दानपेटिकामा भक्तजनले चढाएको रकम र मन्दिरमा रसिद काटेरै दिएको दान पनि गणना गरिएको हो । शिवरात्रीका दिनमा दानपेटिकामा चढाएको र रसिद काटेर दान दिएको रकम गणना गरिएको अध्यक्ष रेग्मीको भनाइ छ । बिहीबार सर्वपक्षीय तबरबाट भएको गणनापछि रकम बैंक दाखिला गरिएको हो ।