• १५ फागुन २०८१, बिहिबार

शान्तिको सन्देश छर्दै रामग्राम स्तूप

blog

भाइबहिनीहरू, भगवान् गौतम बुद्धका बारेमा हामी सबैलाई थाहा छ । गौतम बुद्धको जन्म नेपालको लुम्बिनी प्रदेशको रूपन्देहीमा रहेको लुम्बिनी भन्ने स्थानमा भएको हो । गौतम बुद्धको जन्म स्थल लुम्बिनी विश्वभरि प्रसिद्ध छ । उहाँको जन्म  स्थल लुम्बिनीलाई विश्वभरिका बौद्ध धर्म मान्नेहरूले पवित्र स्थलका रूपमा लिन्छन् । यसै कारण प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा विदेशी पर्यटक लुम्बिनी घुम्न र प्रार्थना गर्न आउने गर्छन् ।

गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ गौतम थियो । सिद्धार्थ गौतमका बाबु कपिलवस्तुका राजा हुनुहुन्थ्यो । सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेपछि गौतम बुद्धको नामबाट परिचित हुनुभयो । गौतम बुद्धलाई छोटकरीमा बुद्ध पनि भन्ने प्रचलन छ । बुद्धले भारतको सारनाथमा ज्ञान प्राप्त गर्नुभएको थियो । बुद्धको मृत्यु भारतको कुशीनगरमा भयो । बुद्धको मृत्युलाई महापरिनिर्वाण भन्ने प्रचलन छ । 

मानिसको मृत्युपछि शरीरलाई जलाएर बचेको अवषेश अर्थात् खरानीलाई अस्तु भनिन्छ । अस्तु गाडेर राखिएको स्थानलाई स्तूप भन्ने गरिन्छ । गौतम बुद्धको पनि मृत्युपछि उहाँको अस्तुलाई कसले लैजाने भन्ने विषयमा त्यो बेलाका राजाहरू बिच ठुलो विवाद भयो । बुद्धको अस्तुलाई आआफ्नो देशमा लैजाने र आफ्नो देशमा बुद्धको स्तूप बनाउँछौँ भन्दै राजाहरूले झगडा गरे ।  

हालको नेपालको दक्षिणी भाग (मधेश क्षेत्र) र भारतको उत्तर क्षेत्रका देशका राजाबिच लामो विवाद र छलफलपछि बुद्धको अस्तुलाई बाँडेर आठ वटा देशमा लैजाने निर्णय भयो । त्यो बेलामा देश नभनेर गणराज्य भन्ने प्रचलन थियो । गणराज्यहरू बिचमा भएको निर्णय अनुसार बुद्धको अस्तु त्यो बेलाका वैशाली, कपिलवस्तु, अलाकप्पा, कुशीनारा, पावा, राजगहा, वैप्दिप एवं रामग्राम गरी आठ वटा गणराज्यका राजालाई बाँडिएको थियो ।  

ती आठ वटा स्तूपमध्ये रामग्राम स्तूप मात्र नेपालमा पर्दछ भने अन्य सबै स्तूप अहिलेको नक्सा अनुसार भारतमा पर्दछन् । नेपालमा रहेको बुद्धको एक मात्र स्तूप रामग्राम स्तूप नेपालको नवलपरासीको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिण उज्जैनी भन्ने स्थानमा छ । रामग्राम स्तूप पनि बुद्ध धर्म मान्नेहरूका लागि बुद्धको जन्मस्थल लुम्बिनी जस्तै महìवपूर्ण मानिन्छ । यो स्थानमा पनि प्रत्येक वर्ष हजारौँ विदेशी पर्यटक आउने गर्दछन् । यस क्षेत्रमा आउने पर्यटकले बुद्धको समाधि रहेको स्थान रामग्राम स्तूपलाई परिक्रममा गर्दछन् । बुद्धको अस्तु रहेको यो स्थानलाई पवित्र स्थान मानी स्तूप अगाडि बसेर ध्यान, योग, प्रार्थना गरी अन्तिममा शान्ति दीप बाल्ने गर्दछन् । 

बुद्धको निधनको तीन सय वर्षपछि भारतका मौर्य सम्राट् अशोकले बुद्धको ज्ञान विश्वभरि फैलाउने भन्दै बुद्धका ती आठ वटा स्तूपमध्ये सात वटा स्तूप फुटाएर त्यहाँको अस्तु विश्वभरिका चौरासी हजार स्थानमा लगेर पुनः अन्य स्तूप बनाएका थिए तर त्यो बेलाका नागजातिका स्थानीय बासिन्दाले नवलपरासीको रामग्राम स्तूपलाई फुटाउन दिएनन् । अशोकले नेपालको यो स्तूप फुटाउन सकेनन् । त्यसपछि अहिलेसम्म यो स्तूप अखण्डित रहेको छ । नफुटाइएकोलाई अखण्डित भनिन्छ । यसै रामग्राम स्तूपको नाममा नवलपरासीको सदरमुकाम रहेको नगरपालिकाले पनि पालिकाको नाम रामग्राम नगरपालिका राखेको छ ।   

Author

गोपी ज्ञवाली