• २४ असार २०८२, मङ्गलबार

बबई नदी पुल

दुई वर्षमा तिस प्रतिशत काम

blog

घोराही समाचारदाता

घोराही, फागुन १५ गते । निर्माण कम्पनीको ढिलासुस्तीका कारण बबई नदीमा पुल निर्माणमा ढिलाइ भएको छ । नेत्रलाल मार्ग अन्तर्गत दाङको घोराही उपमहानगरपालिका–५, खैरागनार र वडा नं. ६ को लखुवार जोड्ने बबई नदी पुल निर्माणमा ढिलाइ भएको हो । 

पुल निर्माणको ठेक्का सम्झौता भएको करिब २६ महिनामा पुलको ३० प्रतिशत मात्र काम भएको छ । २०८२ साल कात्तिक २० गते पुल निर्माणको काम सक्ने गरी २०७९ मङ्सिर २१ गते करिब १७ करोड एक लाख एक हजार रुपियाँमा शान्ति निर्माण सेवा अनामनगर काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार पुलको आधा बढी काम भइसक्नुपर्ने भए पनि अहिलेसम्म करिब ३० प्रतिशत मात्र काम भएको पुल सेक्टर कार्यालय नेपालगन्जले जनाएको छ । पुल निर्माणको काम भइरहे पनि समय अनुसार प्रगति देखिन नसकेको पुल सेक्टर कार्यालय नेपालगन्जका इन्जिनियर रामकिसुन चौधरीले बताउनुभएको छ । 

पुल निर्माणका लागि पिल्लरको फाउन्डेसन निर्माणलगायत करिब ३० प्रतिशत काम गरेको निर्माण कम्पनीका प्रतिनिधि जनक वलीले जानकारी दिनुभयो । पुल निर्माणका लागि बजेटको अभावसँगै पुलको तल्लो भागमा काम गर्दा बढी समय लाग्ने भएका कारण अहिले कम प्रगति देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि अहिले पिल्लरको फाउन्डेसनको काम सकेर अहिले पिल्लर उठाउने काम भइरहेको छ । 

काममा केही ढिलाइ भए पनि सम्झौता मितिमा पुल निर्माणको काम सक्ने गरी निर्माण कम्पनी लागेको भन्दै प्रतिनिधि वलीले भन्नुभयो, “सम्झौता मितिमै पुल निर्माणको काम सक्ने गरी काममा लागेका छौँ । बजेटको अभाव नभए बाँकी काम सम्झौता मितिमा सक्छौँ ।” निर्माण कम्पनीका प्रतिनिधि वलीले बजेट अभावका कारण पुल निर्माणको काममा ढिलाइ भएको बताउनुभयो । पुल निर्माण भएपछि स्थानीयलाई बर्सातको समयमा बबई नदी वारपार गर्न सहजता हुने छ ।