चितवन समाचारदाता
चितवन, फागुन १५ गते । मुग्लिङ–मलेखु सडकखण्डको छ लेन क्षेत्रमा कालोपत्रे गर्न सुरु भएको छ । सडक विस्तारक्रममा रहेको मलेखु, बेनीघाट, मुग्लिङ क्षेत्रमा कालोपत्रे गर्न थालिएको हो । फराकिलो बनाएर तयारी अवस्थामा रहेको कुरिनटारमा अहिले धमाधम कालोपत्रे भइराखेको नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छ लेन सडक निर्माण भइराखेका मलेखु, बेनीघाट र मुग्लिङमा अबको क्रममा कालोपत्रे हुने छ ।
कुरिनटारमा भने धमाधान कालोपत्रे गरेर अन्तिम रूप दिने तयारी भएको छ ।” सूचना अधिकारी मिश्रका अनुसार तीन वटा खण्डमा सडक विस्तार भइराखेको छ । मुख्य बजार क्षेत्रमा छ लेन, बस्ती तथा बजार भएको केही स्थानमा चार लेन र कठिन भूगोल भएको स्थानमा डेडिकेटेड दुई लेनको सडक निर्माण गरिने छ । छ लेनको कुल लम्बाइ २.३ किलोमिटर हुने छ ।
चार लेनको सडकको कुल लम्बाइ साढे ७ किलोमिटर हुने छ । बाँकी रहेको २९ किलोमिटर डेडिकेटेड दुई लेन सवारीसाधन गुड्ने सात मिटर चौडाइ कायम हुने उहाँले जानकारी दिनुभयो । उहाँले छ लेनको सडकमा कालोपत्रे सकेर चार लेन निर्माणको अन्तिम तयारीमा रहेको स्थानमा गर्ने तयारी भएको बताउनुभयो ।
सवारीसाधन नरोकी सडक निर्माण गर्दा केही कठिन भए पनि प्रगतिलाई वृद्धि गर्दै लगिएको उहाँको भनाइ छ ।
कडा चट्टान भएको पहाडमा भने सडक विस्तारमा कठिन भइराखेको छ । त्यसलाई बिस्तारै पहाड फोडेर फराकिलो बनाइने छ । अहिलेसम्म २३ प्रतिशत काम सम्पन्न भइसकेको मलेखु–मुग्लिङ सडकखण्डमा २४ किलोमिटर नाला निर्माण पूरा भएको छ । उहाँले भन्नुभयो, “सवारीसाधनको बढ्दो चापका कारण काममा समस्या भए पनि एकतर्फी सञ्चालन गरेर निर्माणलाई निरन्तरता दिएका छौँ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।” पश्चिम क्षेत्रको सडकमा छ वटा पुल निर्माण भइराखेको छ ।
छमध्ये चार वटाको काम धेरै अघि बढेको उहाँको दाबी छ । गोमती, खटौती, मौवाखोला, र वारवाङ खोलामा पिल्लर निर्माण सकेर माथि स्ल्याब राख्ने तयारी अवस्थामा रहेको छ । चरौँदी र हुग्दी खोलाको पुल निर्माणलाई पनि निरन्तरता दिएको सूचना अधिकारी इन्जिनियर मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खण्डमा १० ठाउँमा आकाशेपुल निर्माण गरिने छन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिङमा आकाशेपुल निर्माण हुने छ ।” मुग्लिङ–नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भोगेकाले यस क्षेत्रमा भने पहाडलाई भन्दा त्रिशूली नदीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउने कामलाई प्राथमिकता दिने आयोजनाले जानकारी दिएको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) मा चार अर्ब ८० करोड लागतमा निर्माण भइराखेको छ ।