चित्र मिजार
सिन्धुपाल्चोक, फागुन १५ गते । बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरा स्थायी ठेगाना भई हाल बलेफी गाउँपालिका–८ टोप्कामा बस्दै आएकी १२ बर्षीया आशिका तामाङ पहिचान नभएको छाला रोगबाट साँढे २ वर्षदेखि थलिएकी छिन् ।
आशिकाको शरीरको पुरै भागमा घाउ नै घाउ आएको छ । घाउ पाक्ने र पाप्रा नलाग्ने रोगको सिकार भएकी आशिकाले घाउकै कारण कक्षा ४ मा अध्ययन गर्दा गर्दे बिचमै पढाई छाड्नु परेको छ । छाला रोगकै कारण एक त आशिकाको ज्यान जोखिममा परेको छ भने अर्को तर्फ उनीको पढाई बिचैमा रोकिएको छ । स्थानीय कालीदेवी आधारभूत विद्यालयमा अध्ययन गर्दे आएकी आशिका जीउभर घाउ आएको कारण विद्यालय शिक्षा लिनबाट वञ्चित हुनु भएको छ ।
आशिकाकी आमा पूजा र बुबा विपिनले भएभरको जायजेथा बेचेर आशिकाको उपचारका लागि साँढे ८ लाख खर्च गरिसके । राजधानीको नाम चलेको टिचिङ हस्पिटल, वीर अस्पताल लगायतका दर्जनौँ अस्पताल उपचारका लागि पुर्याई सके । तर पनि छालाको रोगको पत्ता लगाउन कठिन भइरहेको छ । धाँमीझाँक्री, फुकफाक, झारपात औषधीदेखि विभिन्न अस्पताल लगेर उपचार गरे पनि आशिकाको रोग कम भएको छैन । अज्ञात छाला रोगले आशिका दिनहुँ गली रहनु भएको छ ।
आशिकाको परिवार टोप्काको बिकट गाउँमा टहरोमा बस्दै आइरहेको छ । मजदुरी गरेर ल्याएको कमाइले परिवार धान्नै मुस्किल परिरहेको आमा पूजाले पीडा सुनाउनु भयो । ‘थप उपचारका लागि लाखौँ रुपियाँ लाग्ने अस्पतालले जनाएपछि आशिकाको परिवार छोरीको उपचार गर्न नसक्ने अवस्थामा पुगेको छ । ‘सम्पत्तिको नाममा सबै बिक्री गरेर उपचारमा खर्च भइसकेको छ–अब त यही टहरो बेचेर उपचार खर्च जुटाउन पर्ला’–आमा पूजाले पीडा सुनाउनु भयो । तर बिकट गाउँको छाप्रो खरिद गर्न आउने कोही छैनन्–उहाँले गुनासो पोख्नुभयो ।
स्थानीय समाजसेवी बलराम सापकोटा, लामोसाँघु साकोसका व्यवस्थापक रबिन बिक, अभिप्रेरणा युवा क्लबका साजन तामाङ, भीमबहादुर आचार्य लगायतका स्थानीय समाजसेवीहरू आशिकाको उपचारका लागिपरेका छन् । उहाँहरूको मद्दतले अहिले आशिकालाई औषधी प्रबन्ध हुदैं आएको छ । तर उपचारमा धेरै ठुलो रकम लाग्ने हुँदा आशिकाको परिवारजनले देश विदेशमा रहनु भएका सहयोगी हातहरूसँग सहयोगको आग्रह गरेका छन् । उक्त स्थानमा मृतक परिवारलाई सापकोटाको अगुवाइमा राहत रकम प्रदान गरिँदै आएको छ । लामोसाँघुमा उहाँले व्यक्तिगत खर्चमा सापकोटा बिश्रामस्थल निर्माण गर्नु भएको छ ।