व्रतहरूमा श्रेष्ठ शिवरात्रि व्रत वा व्रतराजका रूपमा लिने गरिन्छ । किनकि शिव भनेको ज्ञानका प्रदाता हुन् । मुक्ति ज्ञानबाट नै हुन्छ । जन्म र जीवनदेखि मानिस डराउँदैनन् तर मृत्युदेखि सबै डराउँछन् । मृत्यु लय अवस्था हो । त्यसैले शिवको आराधना सामान्य मानिसले गर्न सक्दैन । संसारमा जति पनि घटना छन्, ती मायाबद्ध छन् । ज्ञान नभएसम्म माया तिरोहित हुँदैन । मायाबाट पार नपाएसम्म मुक्ति हुँदैन । मायाको बन्धन काट्ने भगवान् शिव हुनुहुन्छ । त्यसैले शिवरात्रि व्रतलाई व्रतराज भनिएको हो । व्रतको अर्थ सर्वसाधारणले बुझ्दा अन्नग्रहण नगर्नेलाई मात्र लिने गरेका छन् । व्रतको अर्थ अन्न ग्रहण नगर्नु मात्र नभई कर्मद्वारा आत्मिक उन्नति गरिने ईश्वरानुभूतिको अवसरलाई प्राप्त गर्ने अभूतपूर्व क्षण हो । अन्न नखाई बसिने व्रतले हाम्रा इन्द्रिय र मन शिथिल भई ध्यानयोगमा जान सहज
गराइदिन्छ । त्यसैले साधनाको सुरुवातमा अन्न नखाई नै व्रत बस्नु पर्छ । व्रतमा दिनमा अन्न नखाने र रातमा जाग्र्रम रहने गरिन्छ । यसले मन र इन्द्रियलाई संयमतातिर जानका लागि सहज बनाउँछ ।
गीतामा भगवान्ले भन्नुभएको छ, “सबै प्राणीहरू अर्थात् विषयासक्त संसारीजनका लागि जहाँ रात हुन्छ, त्यसमा संयमी व्यक्ति जागेका हुन्छन् ।” संसारी अज्ञानी जन जुन जगत्मा जाग्दछन् आत्मदर्शनयुक्त योगीजनका लागि त्यो रात हो । त्यसकारण विषयी वा विषयासक्त जहाँ सुत्छन्, त्यस अवस्थामा संयमी प्रबुद्ध जागरुक हुन्छन् । रात्रिमा जाग्रम रहनुलाई महत्व दिइएको हो ।
शिवको प्राथमिक पूजा पुष्प, चन्दन, धूप, दीप, विल्वपत्र श्रद्धासाथ अर्पित गरेर शिव नामको मन्त्र जप र ध्यान गर्नु हो । पूजाभन्दा पनि माथि उठेर साधनामा जाने हो भने चित्तवृत्तिलाई निरोध गरेर जीवात्मालाई परमात्मा शिवको साथ योग गर्नु हो । जीवात्माको ‘मलदोष, आवरण दोष र विक्षेप दोष’ हटाएर परमतत्व ‘शिव’ को साथ एकीभूत हुनु नै वास्तविक शिवको पूजा र साधना गर्नु हो । यही जीवनको वास्तविक ध्येय हुनु पर्छ भनेर शास्त्र र गुरुहरूले बताउँदै आएका छन् ।
भगवान् शङ्करलाई पुराणहरूमा सम्पूर्ण विरोधी भावको अनुपम सामञ्जस्य भएको ईश्वर तìवका रूपमा चित्रित गरिएको छ । यस्तो अद्भुत समन्वय भएको पुरुषले नै निन्दा स्तुतिमय हलाहललाई पचाएर अमरत्व प्राप्त गर्न सक्छ । त्यसैले होला भगवान् शिवले समुद्र मन्थनको समयमा निक्लिएको हलाहल विषलाई पिएर संसारलाई बचाउनुभयो । शिव काम, क्रोध, लोभ र मोह विजेता हुनुहुन्छ । उहाँ जस्तो कामविजेता देव पुरुष पाउन मुस्किल छ । उहाँ नारीश्वर पनि हुनुहुन्छ र गृहस्थ भएर पनि गृहमा बस्नुहुन्न ।
शिवलाई न्याय र आदर्शको स्वरूप कहिन्छ । जसले विविध विषमताले त्रस्त एवं विकल विश्वलाई समरसता दिएको छ । विभिन्न विचारधारा, वाद, मतबिच प्रतिदिन चल्ने लडाइँ–झगडाले त्रस्त आजको संसारका लागि ‘सहअस्तित्व’ को यस्तो भावनात्मक उदाहरण के हुन सक्छ ? महाशिवरात्रि पर्वबाट सिक्नुपर्ने, आत्मानुभव गर्नुपर्ने आदर्श र जीवनदायिनी विषय यिनै हुन् ।
शिवरात्रि पर्वले चेतनका दिव्यज्ञानका पक्ष जागरण र आत्मबोधतर्फ अगाडि बढ्न प्रेरित गर्छ । वैरागी, उदासी, सन्न्यासी, नागा आदि विभिन्न सम्प्रदायका साधुसन्त, योगी, भेषधारी जोगीहरू महाशिवरात्रिका दिन टाढा टाढाबाट आइपुग्छन् । भगवान् श्रीपशुपतिनाथ मन्दिर प्राङ्गणमा नागाबाबा आसन जमाएर बस्छन् । उनीहरूको खानापिना र सुविधा गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले गर्दछ । त्यसमा अन्य थुप्रै धार्मिक सामाजिक सङ्घ संस्थाले पनि सेवा दिने गरेका छन् ।
शिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वका रूपमा लिइएको छ । शिवपुराणमा उल्लेख भए अनुसार भगवान् विष्णुले एक पटक शिवलाई कुन व्रतबाट भक्तजनले भोग र मोक्ष एकसाथ पाउँछन् भनी सोध्दा शिवले १० वटा व्रतको नाम लिनुभएकामा महाशिवरात्रि व्रतलाई अत्यधिक महìवपूर्ण उच्च व्रत भनी बताउनुभएको प्रसङ्ग छ । त्यहाँ एक जना व्याधाले अन्जानमै भगवान् शिवको फागुन कृष्ण चतुर्दशीको रात्रिमा पूजाअर्चना हुन जाँदा उसको जीवनमा आमूल परिवर्तन भएको कथा पनि उल्लेख छ । अन्जानमा पूजा गर्दा त दिव्य ज्ञान पाउन सकिन्छ भने जानेर, बुझेर उहाँको पूजाअर्चना गरियो भने के पाइँदैन ? भन्ने कुरा त्यस कथाबाट जान्न सकिन्छ ।
धेरै पहिले पशुपतिनाथमा जुनबेला पायो त्यही बेला प्रवेश गर्न नपाउने व्यवस्था थियो । महाशिवरात्रिकै अवसरमा मात्र सात दिनका लागि खुला हुन्थ्यो । त्यसै कारणले महाशिवरात्रिको अवसरमा धेरै जसो स्वदेशी तथा विदेशी साधुसन्त, विद्वान्, जोगी तथा सर्वसाधारण ठुलो सङ्ख्यामा आउने गरेको हो ।
शिवरात्रिका दिन साँझपख शिवधुनी भनेर दोबाटो चौबाटोमा दाउरा बाल्ने प्रचलन यद्यपि अझै छ । शिवधुनी लगाउन भनी टोल टोलमा चन्दा उठाउने पनि गर्दछन् । भगवान् शिव धुनीप्रिय हुनुहुन्छ भन्ने पौराणिक मान्यताका कारण तथा शिशिर ऋतुको ठण्डी नगइसकेको हुनाले गर्मी ठाउँबाट आउने परदेशी यात्रुलाई जाडो नहोस् भनेर धुनी लगाउने गरेको हुन सक्छ ।
शिवले गाँजा, भाँग, धतुरो खाएको कथा स्वस्थानीमा छ । यसैले होला शिवरात्रिका दिन कसैका लागि पशुपति क्षेत्रमा गएर गाँजा, भाङ खाने पर्व भएको थियो । यो गलत परम्परा केही वर्षदेखि बिस्तारै हट्दै गएको देखिन्छ । भगवान् शिवसँग जोडेर गाँजा, भाङजस्तो दुव्र्यसन एवं विकृतिलाई प्रश्रय कतैबाट पनि दिनुहुँदैन । कहाँ भगवान् शिव ईश्वर, कहाँ दुव्र्यसनयुक्त नसा सेवन !
शिवरात्रिको दिन राजमार्गका ठाउँ ठाउँमा बस, कार, मोटरसाइकललाई रोकेर पैसा माग्ने चलन छ । साँझपख त्यो कमाइले जाँड रक्सी खाएर जथाभाबी गर्ने जस्ता गलत प्रवृत्तिले प्रश्रय पाएको पनि देखिन्छ । यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । यस्ता प्रवृत्तिले मौका पायो भने मगन्ते संस्कार हुर्कन गई समाजमा भएको आस्था पनि समाप्त हुन्छ । यो जुन कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न हुँदैन । धुनी बाल्ने नाउँमा छिमेकीको घरबाट दाउरा चोर्ने, जथाभाबी रुख काटेर आगो बाल्ने र नसा सेवन गरेर होहल्ला गर्ने गलत प्रवृत्ति बढ्दै गएको हुँदा यसलाई हटाउनु आवश्यक छ ।
शिवरात्रि पर्वभित्र अनेकौँ राम्रा पक्ष छन् जसले मानिसको जागरण र आत्मबोधलाई उजागर गर्छ । बाहिरी बोक्रे आडम्बरलाई फाल्दै जानसके मात्र आत्मिक उन्नतिको ज्ञानमय पथमा हामी जान सक्छौँ । शिवरात्रि पर्व केवल औपचारिकतामै मात्र सीमित हुनुहुन्न । यसबाट पाउनुपर्ने, लिनुपर्ने, सिक्नुपर्ने असल कुरालाई जीवनमा लिन सक्नु पर्छ । यसो भएन भने हरेक वर्ष शिवरात्रि पर्व आउँछ जान्छ, त्यसबाट लिनुपर्ने आत्मिक जागरणका महìवपूर्ण पक्ष छुट्छन् ।