गत वर्षको एसइई परीक्षामा सामाजिक विषयमा विद्यार्थीले राम्रो उपलब्धि हासिल गर्न सकेनन् । ग्रामीण क्षेत्रमा अङ्ग्रेजी, गणित र विज्ञान विषयको उपलब्धि विगतमा त्यत्ति सन्तोषजनक नरहे पनि सहरी क्षेत्रमा यी विषयको उपलब्धि स्तर राम्रो नै रहँदै आएको थियो । पछिल्लो समय अर्थात् नयाँ पाठ्यक्रम लागु भएपछि सामाजिक विषय नेपाली माध्यममा पठनपाठन गर्न थालियो । नेपाली समाजका रीतिथिति, प्रथा र प्रचलनलाई नेपालीमै बुझ्नु अर्थपूर्ण पनि हुन्छ । सैद्धान्तिक रूपमा यसो भनिए पनि नतिजा हेर्दा सहरी क्षेत्रमा सामाजिक विषय फलामको चिउरा बन्न थालेको आभास भयो । त्यसो त ग्रामीण क्षेत्रमा पनि सामाजिकमा उल्लेखनीय उपलब्धि देखिएको छैन । सहरी क्षेत्रको समस्या भएकाले होला नतिजा प्रकाशित भएपछि सामाजिक विषयबारे अनेकानेक टिप्पणी हुन थाले । केहीले माध्यमलाई दोष दिए त केहीले सामाजिक विषय शिक्षण गर्ने शिक्षक नै उपलब्ध नभएका बेला भूगोल, राजनीतिशास्त्र, समाजशास्त्र, वाणिज्य र अर्थशास्त्रको समेत सम्मिश्रण भएको सामाजिक विषय विद्यालय तहमा लागु गर्नु नै उपयुक्त थिएन भनी तर्क प्रस्तुत गरे । सर्वत्र आलोचना हुन थालेपछि पाठ्यक्रम विकास केन्द्रले शिक्षा मन्त्रालयको निर्देशन अनुसार पाठ्यक्रमलाई छरितो बनाउने जानकारी दिइसकेको छ ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार १० कक्षाका विद्यार्थीलाई आवश्यक पर्ने जति सूचना सामाजिक विषयमा समावेश गरिएको छ । यो विषय लागु गर्नुभन्दा अगाडि परीक्षणसमेत गरिएकाले पाठ्यक्रम वैज्ञानिक नै रहेको तर्क गरिरहेको छ । कक्षाकोठामा शिक्षण गर्ने शिक्षकका अनुसार विद्यार्थीले भूगोल अन्तर्गत विश्व र अमेरिकाका भौगोलिक विशेषता एवं संरचनाबारे सिक्न गाह्रो मानिरहेका छन् । यस्तै नागरिक शिक्षा अन्तर्गत पालिका, प्रदेश र केन्द्र सरकारका गठन, अधिकार र कर्तव्यका कुरा कठिन लाग्ने गरेका छन् ।
हुन पनि राज्यका प्रमुख तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबारे शिक्षित नागरिकलाई जानकारी हुनुपर्छ नै । यसो भन्दैमा १५/१६ वर्षका कलिला बालबालिकाले संविधानका धारा, कानुनका दफा, न्यायपरिषद् गठनका कुरा, न्यायाधीशका योग्यता एवं प्रदेश र स्थानीय तहका कार्यविभाजनका कुरासमेत कण्ठस्थ गर्नु पर्छ भन्ने जायज होइन । सामाजिक विषयमा अनेक क्षेत्रका विषयवस्तु समावेश गरिनु राम्रो हो तर विविध विषयवस्तुको संयोजन गर्ने नाममा लोक सेवाको खरिदार पदका लागि आवश्यक पर्ने सूचनाको सङ्ग्रह गरिनु मनासिब होइन । यसैको परिणाम सामाजिक विद्यार्थीको रुचिको विषय बन्न सकेको छैन ।
कसरी रुचिकर बनाउने सामाजिक विषय ?
सामाजिक विषय समाज, सामाजिक प्रथा, परम्परा, रीतिरिवाज एवं मूल्यमान्यतासँग सम्बन्धित विषय हो । यसले सामाजिक मूल्यसमेत सिकाउने भएकाले सामाजिक शिक्षामा मानव मूल्यसमेत जोडिएको छ । यसको तात्पर्य समाजमा मानवको अस्तित्व, मानवले गर्नुपर्ने योगदान र मानव अधिकारका कुरासमेत समावेश छन् भन्ने सुनिश्चित पनि हो । सामाजिक शिक्षाको मौजुदा पाठ्यक्रममा सबै कुरालाई जोड्ने प्रयास गर्दा उपलब्धि हासिल नहुने तर ठुलो भारी बोक्नुपर्ने अवस्था सिर्जना भएको हो । सामाजिक विषयको पाठ्यक्रम परिमार्जन र निर्माण गर्ने क्रममा एकीकृत अवधारणा आत्मसात् गर्नु आवश्यक हुन्छ । यसले सामाजिकलाई छरितो मात्र नभएर रुचिकर र पठनीय बनाउँछ । सबभन्दा पहिला स्थानीय तहसँग सम्बन्धित सम्पूर्ण विषयवस्तु सामाजिक शिक्षाबाट अलग गर्नु पर्छ । स्थानीय तहसँग सम्बन्धित विषयवस्तुको जानकारी, स्थानीय तहका संरचना एवं काम कर्तव्यका कुरा स्थानीय पाठ्यपुस्तकबाट प्राप्त गर्ने वातावरण बनाउनु पर्छ । यसले विषयवस्तुलाई छरितो बनाउँछ । यस्तै प्रदूषण, साहित्यकार परिचय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय व्यक्तित्वका जीवनीका कुरा नेपाली र अङ्ग्रेजी विषयमा सिकेका हुन्छन् । भाषा विषयमा ती विषयवस्तुबारे जान्न जति सजिलो हुन्छ, सामाजिकमा त्यत्ति सहज नहुन सक्छ ।
जीवनी, चिठी, दैनिकी र निबन्धात्मक किसिमका प्रतिवेदन, टिप्पणी र निवेदनसँग सम्बन्धित विषयवस्तु भाषा विषयसँग एकीकृत गर्ने हो भने विषयवस्तुको आकारप्रकार छरितो त हुन्छ नै यसले विद्यार्थीमा हुनुपर्ने सक्षमतासमेत सुनिश्चित गर्छ । सामाजिक विषय ज्ञान, सिप, अभिवृत्ति, मूल्य र तत्परताको सिद्धान्तसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने विषय हो । संज्ञानात्मक विषयवस्तुका अतिरिक्त सिप र अभिवृत्तिसँग जोडिएका क्रियाकलापलाई परियोजना कार्यका माध्यमबाट सम्पन्न गर्ने पद्धति विकास गर्ने हो भने स्थानीय ज्ञानको विश्वव्यापीकरणका साथसाथै वास्तविक मूल्यबोध गर्नसमेत सहजता सिर्जना हुन्छ । यसले पाठ्यघण्टाका अतिरिक्त तनावलाई समेत व्यवस्थापन गर्न सहयोग गर्छ ।
शिक्षकलाई तालिमको व्यवस्था गरी सामाजिक विषय भाषिक सिप एवं शुद्धताभन्दा मानवीय मूल्य, सामाजिक संस्कार र राष्ट्रिय/अन्तर्राष्ट्रिय नागरिक बन्न सक्षम बनाउने विषय हो भन्ने बुझाउनु आवश्यक छ । यसो गर्न सकियो भने सामाजिक छरितो विषय मात्र होइन, विद्यार्थीका लागि रुचिकर र प्यारो विषय बन्न सक्छ । वर्तमान पाठ्यक्रमले अपेक्षा गरेका सक्षमता पनि सहज रूपमा हासिल गर्न सकिन्छ ।
के प्रयास गरिएको छ त ?
सामाजिक विषय जटिल भयो भनेर पटक पटक विभिन्न ठाउँमा आवाज उठ्दै आएको हो । शिक्षकका अनुसार जटिलताको मुख्य कारण सिर्जनात्मक र परियोजना कार्यसमेत कक्षाकोठामा सम्पन्न गराउने पद्धति र सामाजिकलाई सूचनाको भण्डार मात्र बनाउने पाठ्यक्रमको उद्देश्य हो । सामान्य ढङ्गले हेर्दा केही विषयवस्तुलाई काँटछाँट गरी पाठ्यवस्तुको आकारगत संरचनालाई सङ्कुचित गर्नु नै सामाजिक विषयको समस्या समाधान गर्नु हो भन्ने बुझाइ छ । यस बुझाइले एकातिर विद्यार्थीको तहगत सक्षमतालाई ध्यान दिएको छैन भने अर्कातिर नेपाली, अङ्ग्रेजी र स्थानीय पाठ्यक्रममा सिकिसकेका कुराको पुनरावृत्तिलाई व्यवस्थापन गर्ने उद्देश्य राखेको देखिँदैन । फलतः पाठ्यक्रम र पाठ्यपुस्तकमा पाठ्यवस्तु धेरै भए, अतः पाठ्यपुस्तकलाई छरितो बनाउनु पर्छ भन्ने उद्देश्यका साथ पाठ्यक्रम विकास केन्द्र अप्ठ्यारा विषयवस्तुलाई पाठ्यपुस्तकबाट हटाउने र सरल विषयवस्तुबाट बढी प्रश्न सोध्ने गरी विशिष्टीकरण तालिका परिवर्तन गर्ने काममा लागेको छ । १०–१५ वर्षपछिको अवस्थालाई आकलन गरी अनुसन्धानका आधारमा पाठ्यक्रम निर्माण गरिन्छ । क्षणिक समस्या समाधान गर्ने नाममा क्षेत्र र विस्तार व्यवस्थित गरी राखिएका कुरामध्ये केहीलाई हटाउने काम गरियो भने त्यसले समग्र सिकाइ उपलब्धिलाई असर पार्छ ।
विषयवस्तु छोट्याउनु आफैँमा समाधान होइन, सिप सिकाइ नभए पनि परीक्षामा राम्रो अङ्क ल्याउन सक्ने बनाउनु वा अवस्था सिर्जना गर्न विशिष्टीकरण तालिका परिवर्तन गर्नु पनि वैज्ञानिक काम होइन । विद्यार्थीका समस्या समाधान गर्न सरकार र पाठ्यक्रम विकास केन्द्र लाग्नु अत्यन्त सराहनीय काम हो । यस्तो काम गर्दा लट्ठी पनि नभाँचिने सर्प पनि मर्ने किसिमले गर्नु बुद्धिमानी हो । हतारमा गरिएका कामले फुर्सदमा पछुताउने अवस्था सिर्जना नहोस् भन्ने हो भने माथि सुझाइए अनुसार पाठ्यक्रमलाई आवश्यक संशोधन र परिमार्जन गर्नैपर्ने अवस्था देखिन्छ ।
पाठ्यक्रमले पार्ने दीर्घकालीन प्रभावलाई अहिले त्यति गम्भीर रूपमा लिइएको देखिँदैन । यसैले शैक्षिक सत्रकै बिचमा पाठ्यवस्तु हेरफेर हुने, सामाजिक सञ्जालमा उठेका नाराका आधारमा विषयवस्तु हटाउने र राख्ने काम गरिएको छ । सञ्जालकै भरमा पाठ्यक्रमलाई छरितो बनाउने नाममा शृङ्खला भत्किने गरी विषयवस्तुको काँटछाँट गरियो भने समग्र पाठ्यव्रmम पुनः हलो काटी मुङ्ग्रो बन्ने सम्भावना रहन्छ । अहिलेको प्रयासले यसप्रकारको अवस्था नआउला भन्न सकिँदैन ।
पाठ्यक्रम राष्ट्रिय आवश्यकता, समाज मनोविज्ञान एवं विद्यार्थीको रुचि र युगीन परिवेशसँग सम्बन्धित हुन्छ । समय समयमा परिवेश र आवश्यकता परिवर्तन हुने भएकाले पाठ्यक्रममा परिमार्जन र परिवर्तन पनि आवश्यक हुन्छ । यसैले पाँच वर्षमा पाठ्यक्रम पुनरवलोकन र १० वर्षमा परिवर्तनको अवधारणा राखिएको छ । त्यसो त वैज्ञानिक आविष्कार, सामाजिक परिवर्तन र अन्य कारणले सिर्जना भएका विविध गतिविधिलाई समावेश गर्नुपर्ने अवस्थामा शिक्षकलाई नै जीवित पाठ्यक्रमका रूपमा परिचालन गर्नु पनि आवश्यक हुन्छ । यस अर्थमा पाठ्यक्रम परिमार्जन र परिवर्तनका काम निरन्तर भइरहने क्रियाकलाप हुन् । हरेक विषयमा सुधारका क्षेत्र पर्याप्त मात्रामा रहेका छन् । पाठ्यक्रम विकास केन्द्रले आंशिक रूपमा ती कामलाई प्राथमिकतामा राखी सम्बोधन पनि गर्दै आएको छ ।
टड्कारो रूपमा उठेको मुद्दा सामाजिक विषयसँग सम्बन्धित भएकाले यस विषयमा रहेका उपलब्धि, पाठ्यभार र पाठ्यवस्तुलाई नै संशोधन र सङ्कुचित गर्नुभन्दा अगाडि समग्र विद्यालयस्तरीय पाठ्यक्रमको अङ्गका रूपमा सामाजिक विषयलाई स्वीकार गरी अन्य विषयसँग एकीकृत गर्ने प्रयास आवश्यक छ । सामाजिक मूल्य र संस्कारका कुरालाई प्रत्यायोजन गरी सामाजिक विषयवस्तुलाई छरितो सामयिक र रुचिकर बनाउन सकिन्छ ।