गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ तीन चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेसम फिलिली’ र ‘मायावी’ प्रदर्शनमा आएका छन् ।
‘लाज शरणम्’ कलाकार कुमार कट्टेल (जिग्री) ले निर्देशित चलचित्र हो । कुमारले यसै चलचित्रबाट निर्देशनमा पाइला टेक्नुभएको छ । सक्किगो टिमले निर्माण गरेको चलचित्रमा सीताराम कट्टेल धुर्मुस नेताको भूमिकामा देखिनुभएको छ । उहाँको गेटअपका कारण चलचित्रको प्रदर्शन केही समयका लागि रोकिएको थियो । पूर्वमन्त्री मोहम्मद अफताव आलमले धुर्मुसको ‘लुक्स’ आफू जस्तो देखिएको भन्दै उच्च अदालतमा निषेशाधाज्ञाको रिट दायर गर्नुभएको थियो ।
आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो । चलचित्रले देशव्यापी १८० हाराहारीमा सो पाएको छ । चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
‘फेरि रेसम फिलिली’ युवाको अमेरिका मोहको विषयमा निर्माण भएको चलचित्र हो । ‘ग्रिन कार्ड’ को विषयवस्तुलाई देखाइएको चलचित्र २०७२ मा प्रदर्शन ‘रेसम फिलिली’ को सिक्वेल हो । चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर बाङदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ । चलचित्रले देशभर १३६ सो पाएको छ ।
यस्तै ‘मायावी’ प्रेमकथामा बनेको चलचित्र हो । युवापुस्तामा देखिने मायाप्रेमको उतारचढावका कुरा चलचित्रको कथाले बताउँछ । चलचित्रमा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डङ्गोल, रमा प्रसाईं, दीपेन्द्र सिंखडा, सङ्गीता सिलवाललगायतको अभिनय रहेको छ । चलचित्रका निर्देशन दिवाकर भट्टराईले गर्नुभएको हो । चलचित्रले देशभर १०८ सो पाएको छ ।