• १४ फागुन २०८१, बुधबार

अवसरवादलाई परास्त गर्न विचार बलियो चाहिन्छ : महासचिव पोखरेल

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै एमाले महासचिव शंकर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १४ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको बताउनुभएको छ । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

 ‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ’ उहाँले भन्नुभयो । अवसरवादलाई परास्त गर्न विचारलाई बलियो बनाउनु पर्ने उहाँले बताउनुभयो ।  ‘अवसरवादलाई परास्त गर्न वैचारिक र राजनीतिक आन्दोलनलाई अघि बढाउनु पर्दछ’ उहाँले भन्नुभयो । 

कुनै पनि संगठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने उहाँले बताउनुभयो । कुनै पनि उद्देश्यको लागि सांगठनिक शक्ति आवश्यक पर्ने पोखरेलले बताउनुभयो । ‘विचारले मात्र हुँदैन, विचारलाई संगठनमा बदल्नु पर्छ, संगठनलाई उद्देश्यमा बदल्नु पर्छ’ उहाँले भन्नुभयो । 

नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टने संस्कार नै विकास भएको पोखरेलले बताउनुभयो । 

कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य र शिक्षामा विकास गर्नुपर्ने उहाँको धारणा छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्र निक्कै कमजोर रहेको उहाँले बताउनुभयो ।  

प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनु पर्ने पोखरेलले बताउनुभयो । नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्ने पोखरेलको भनाइ छ । सरकार फेरबदल भइरहने कुराले जुन रूपमा नेपाल अघि बढ्नु पर्ने हो त्यो हिसाबले अघि बढ्न नसकेको पोखरेलले बताउनुभयो । 

पुँजी निर्माणबिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उहाँले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताउनुभयो । नेपालीको बचत संस्कृति अति कमजोर भएको उहाँको धारणा छ । त्यस्तै राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर भएको उहाँले बताउनुभयो ।

विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको पोखरेलले बताउनुभयो । विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको पोखरेलको धारणा छ । देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेपछि देशका ठुला दुई राजनीतिक दल मिलेर सरकार बनाएको उहाँले बताउनुभयो । 

नेपालमा साना पार्टीले ठुला पार्टीलाई घुर्क्याएर शासन गर्ने गलत संस्कार सुरु भएको उहाँले बताउनुभयो । म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिएर ठुला दलमाथि माओवादीले शासन गर्न सुरु गरेपछि दुई दल मिलेको उहाँले स्पष्ट पर्नुभयो । हामी मिल्नु भनेको शासन गर्नको लागि मात्र होइन, अहिले सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि हामी मिलेका हौँ’, उहाँले भन्नुभयो ।

सरकारले ल्याएको अहिलेको अध्यादेश औचित्यको आधारमा ल्याएको अध्यादेश भएको उहाँले स्पष्ट पार्नुभयो । सरकार अध्यादेश ल्याउन मात्र होइन, नयाँ कानुन बनाउन पनि केन्द्रित रहेको पोखरेलले बताउनुभयो ।